सरकारले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जिम्मेवारी डा. उमेश नेपाललाई सिएको छ। अस्पतालमा पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि डा. नेपाललाई निमित्त कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी मन्त्रालयले जिम्मेवारी तोकेको हो।
स्वास्थ्यमन्त्री निशा मेहताको सचिवालयका अनुसार, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी नयाँ अध्यादेशका कारण अस्पताल नेतृत्वविहीन भएपछि दैनिक सेवा प्रवाहमा समस्या नआओस् भन्नका लागि यो अल्पकालीन व्यवस्था गरिएको हो। विशेषगरी क्यान्सर जस्तो संवेदनशील अस्पतालमा बिरामीको उपचार र प्रशासनिक काम नरोक्न डा. नेपाललाई अघि सारिएको मन्त्रालयले जनाएको छ। डा. नेपालको नियुक्तिसँगै अब रोकिएका प्रशासनिक कामहरू सुचारु हुने र सेवाग्राहीले राहत पाउने अपेक्षा गरिएको छ।
सरकारले क्यान्सर अस्पतालसँगै देशका अन्य महत्वपूर्ण स्वास्थ्य प्रतिष्ठानहरूमा पनि निमित्त प्रमुख तोकेको छ। जसअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. समिता पन्त, पोखरामा डा. नरेन्द्र विक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा.डा. विनम्र विष्टले निमित्तको जिम्मेवारी पाएका छन्।
त्यसैगरी, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह-प्रा.डा. इन्द्र लिम्बू, राप्तिमा सह-प्रा.डा. सुरेश रसाइली, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह-प्रा.डा. रविन्द्रभक्त तिमला र स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्त तोकिएको छ।
स्वास्थ सरकारलयो नियुक्ति केवल तत्कालको रिक्तता टार्नका लागि मात्र भएको स्पष्ट पारेको छ। अब छिट्टै खुल्ला प्रतिस्पर्धा र ‘मेरिट’ अर्थात् योग्यताका आधारमा देशभरका यी अस्पताल र प्रतिष्ठानहरूमा सक्षम र पूर्णकालीन नेतृत्व चयन गर्ने प्रक्रिया तीव्र पारिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ।






