काठमाडौँ, २५ चैत्र २०७९
बीपी नेत्र प्रतिष्ठानले आइतबार विश्व अटिजम दिवसका दिन भक्तपुरको मध्यपुर ठिमीस्थित चियर्स अस्पतालमा रहेको अपाङ्गता तथा विकासका लागि एकीकृत केन्द्रमा अटिजम केयर सेन्टरको स्थापना गरेको छ ।
अटिजम भएका बालबालिकाहरूलाई पुनर्स्थापना तथा प्रशिक्षण सेवा उपलब्ध गराउन बाल, आँखा, नाक, कान, घाँटी अस्पताल तथा पुनर्स्थापना सेवा (चियर्स) ले अटिजम भएका बालबालिकाहरूलाई फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका साथै उपचार तथा आवश्यक तालिम दिई विद्यालयसम्म जानसक्ने गरी तयार गर्नेछ ।
प्रतिष्ठानले फिजियोथेरापी, पेसागत थेरापी, न्यून दृष्टि थेरापी, भिजन थेरापी, स्पीच थेरापी, व्यवहारात्मक थेरापी र मनोसामाजिक थेरापीका सेवा नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।
प्रतिष्ठानका महासचिव तथा चियर्स अस्पतालका कार्यकारी निर्देशक डा. संजिव कुमार उपाध्यायले भने, ‘हामीले प्रायः अटिजम स्पेक्ट्रम डिसअर्डर; अन्धोपन, दृष्टि र श्रवण शक्ति कमजोर वा अपाङ्गता भएका बालबालिकाहरूमा फेला पार्ने गरेका छौँ। हाम्रो अस्पतालमा हामीले अहिलेसम्म ५२ जना अटिजम भएका बालबालिकालाई पहिचान गरेका छौँ भने तीमध्ये २९ जनालाई सक्षम केन्द्र (पुनर्स्थापना)मा तालिम दिएर विशेष शिक्षा प्रदान गर्ने विद्यालयहरूमा भर्ना गरी उनीहरूलाई शिक्षाको मूलधारमा प्रवेश गराएका छौँ।
अटिजम केयर सेन्टरका डा. सुदीप आचार्यका अनुसार नेपालमा अटिजमसम्बन्धी सचेतना र सूचना मूलतः उपलब्ध छैन। केही सीमित अध्ययन अनुसार नेपालमा पहिलो पटक लक्षण पत्ता लाग्ने औसत उमेर करिब ३० महिना रहेको छ । पहिचान पछि जीवनयापनका सीपहरू सिक्न ३० महिना लाग्छ।