काठमाडौं, ४ जेठ २०८०
चिनियाँ जनमुक्ति सेनाले छाउनीस्थित वीरेन्द्र अस्पताललाई एमआरआई मेशिन सहयोग गरेको छ।
मेशिन औपचारिक रुपमा हस्तान्तरणका लागि जेठ ३ गते अस्पतालमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि चीनका राजदूत चाङ शोङ तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माले एमआरआई मेशिन जडित कक्षको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रमा पुर्याएको योगदानका लागि चीन सरकार तथा चिनियाँ जनमुक्ति सेनाप्रति नेपाली सेनाको तर्फबाट आभार प्रकट गर्नुभयो।
नेपाली तथा चिनियाँ जनताहरु बीच रहँदै आएको युगौं पुरानो सुमधुर सम्बन्धका बारेमा उल्लेख गर्दै प्रधान सेनापतिले सन् २०१५ को विनासकारी भूकम्प पश्चातको उद्धार तथा पुनःनिर्माण प्रयासमा चिनको सहयोग रहने बताउनुभयो। उहाँले कोभिडको महामारी विरुद्धका प्रयासहरुमा चीनबाट प्राप्त सहयोग नेपाली जनता तथा नेपाली सेनाका लागि स्मरणीय रहने बताउनुभयो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै चिनियाँ राजदूतले नेपाल चीनको एक असल छिमेकीका रुपमा रहि आएको कुरा बताउदै नेपाली सेनाको स्वास्थ्य उपचार क्षेत्रको सुधारमा सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गर्नुभयोमा चिनियाँ राजदूतले दुई देशका जनता तथा सरकारहरु बीचको सम्बन्ध सुमधुर रहेको तथा भविष्यमा पनि रहिरहने विश्वास समेत व्यक्त गरेका छन्।
कार्यक्रममा बलाधिकृत रथी, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत चिनियाँ राजदूतावासका पदाधिकारी एवं चिनियाँ सैनिक सहचारीको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ।