पोखरा, १८ फागुन २०७८
पोखरामा महानगरपालिका वडा नम्बर १५ र १७ मा बर्डफ्लुको संक्रमण देखिएको छ।
पोखरा १५ का खुसीमान गुरुङ र १७ का खेमबहादुर क्षेत्रीले पालेको कुखुरा मरेपछि बर्डफ्लु भएको आशंकामा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएसँगै पोखरा क्षेत्रमा उच्च सतर्कता अपनाइएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिका सूचना अधिकारी डा. गृष्म न्यौपानेले जानकारी दिए।
उनका अनुसार अहिले संक्रमण देखिएको खोरका र त्यस क्षेत्रका कुखुरा तथा पक्षी नष्ट गर्ने काम भइरहेको छ। बर्डफ्लु पुष्टि भएका खोरमा ४२ दिनसम्म पक्षी पाल्न नपाउने र देखिएको केही क्षेत्रमा सिल गरिएको छ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिको बैठक बसेर संक्रमण भेटिएको क्षेत्रलाई संक्रमित क्षेत्र घोषणा गरिएको न्यौपानेले बताए। त्यस क्षेत्रमा बाहिरबाट कुखुरा र पक्षीहरुको आयातमा १० दिनका लागि बन्देज लगाइएको छ।
स्थानीय कृषकले पालेका कुखुरामा संक्रमण पुष्टि भएपछि यही १५ गते गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रभावित क्षेत्र तोकेर संक्रमण नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको उनले बताए।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले बुधबारदेखि २७ गतेसम्म जोखिम क्षेत्रमा पक्षी र पक्षीजन्य पदार्थको ओसार-पसारमा रोक लगाइएको छ। केही वर्षअघि पनि पोखरा- १४ को मझेरीपाटनमा संक्रमण फैलिएको थियो।
समितिले बर्डफ्लु देखिएपछि आम उपभोक्ता र किसानलाई आवश्यक सजगता अपनाउन आग्रह गरेको छ।