सिन्धुपाल्चोक, १२ फागुन २०७८
काठमाडौं लगायत केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ।
बर्ड फ्लूको लागि जिल्लाको मुख्य नाकामा पक्षीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहले समेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन्।
पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिक रूपमा कुखुरा, कालिज तथा पशुपक्षी पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्डफ्लूप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै रोग देखिएमा नलुकाउन आग्रह गरेका छन्।
पशुपक्षी विशेषज्ञ डा. सुदीप हुमागाईले फार्म व्यवस्थापन तथा सरसफाइमा चनाखो रही जनधनको क्षति हुन नदिन व्यवसायीलाई आग्रह गरे। साथै, उनले हालको बर्डफ्लू संक्रमण मानिसमा समेत हुनसक्ने लक्षणसहित बर्डफ्लू देखिएकाले उच्च सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याए।
नगरपालिकाका पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले विभिन्न ५० स्थानबाट बर्डफ्लू परीक्षणका लागि ‘स्याम्पल’ पठाइएको जानकारी दिए।
माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्डफ्लू संक्रमण त्यसयता चितवन र काठमाडौँमा देखिएको छ। रासस