काठमाडौं, ६ श्रावण २०७९
वीर अस्पतालमा एकै दिन तीन जना बिरामीको मस्तिष्क (ब्रेन) एनोरिजमको सफल शल्यक्रिया गरिएको छ।
अचेत अवस्थामा ल्याइएका ती बिरामीको बिहीबार सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।
वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा. राजीव झाका अनुसार दुई महिला र एक पुरुषको पाँच वटा ब्रेन एनोरिजमको शल्यक्रिया गरिएको हो। उनीहरु क्रमश ४३, ६१ र ६७ वर्षका थिए। उनीहरुको अवस्था हाल सामान्य रहेको र करिब एक सातापछि डिस्चार्ज गरिने डा. झाले बताए।
डा. झाका अनुसार बिहान ६ बजेबाट सुरु गरिएको उनीहरुको शल्यक्रिया राति ११ बजे मात्र सकिएको थियो। मस्तिष्कमा रहेको रगत बग्ने नशा फुटेर उनीहरु अचेत अवस्थामा पुगेका थिए। दुई जना पाँच दिन र एक जना दुई दिन अघि अस्पतालमा ल्याइएको थियो। उनीहरु तीन जनालाई आइसीयूमा राखेर उपचार गरिएको वीर अस्पतालका न्यूरो सर्जरी विभागीय प्रमुख डा. झाले जानकारी दिए।
डा. झाका अनुसार उनीहरु तीन जनाकै ब्रेन एनोरिजम फुटेर बेहोस अवस्थामा अस्पतालमा ल्याइएको थियो। यो अवस्थाका सबै बिरामीलाई आइसीयूमै राख्नुपर्छ। अचेतमा भएको व्यक्तिलाई पहिला होसमा ल्याएपछि मात्र शल्यक्रिया गर्नुपर्छ।
डा. झाको नेतृत्वमा भएको शल्यक्रियामा डा. राजेन्द्र श्रेष्ठ, डा. विकेश खम्बु, डा. विनोद राजभण्डारी, डा. समीर अर्याल, डा. सुशील मोहन भट्टराई, डा. बिनित झा, डा. सोम राज लामिछाने र डा. नरेन्द्र शालिखे थिए भने रेजिडेन्ट डाक्टरहरुमा डा. प्रभात झा, डा. नम्रता खड्का, डा. कुमार पौडेल र डा. सुबोध गौतम संलग्न थिए।
यस्तैगरी एनेस्थेसियामा डा. विधुर बराल, डा. गौरव रत्न बज्राचार्य, नर्सहरु सिन्धु गौतम, इश्वरी राजभण्डारी र अन्जना बराल शल्यक्रियामा सहभागी थिए।