काठमाडौँ, ५ असोज २०८०
वीर अस्पतालले आफ्ना कार्यरत सबै कर्मचारीहरु र उनीहरुका परिवारका अरु चार जना सदस्य समेतको नि:शुल्क स्वास्थ्य वीमा गरिदिने निर्णय गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको गत १९ भदौमा बसेको कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार अस्पतालले सबै कर्मचारी र तिनका परिवारका सदस्य (कुल ५ जना) को स्वास्थ्य बीमा गरिदिने भएको हो ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीरमा कार्यरत प्राविधिक तथा अप्राविधिक लगायतका सम्पूर्ण कर्मचारीहरु, जसमा स्थायी, अस्थायी, करार, मासिक तथा दैनिक ज्यालादारीको रुपमा खटिएका छन्, उनीहरु सबैको स्वास्थ्य बीमा गरिदिन निर्णय भएको बताए ।
डा. पौडेलले सबै खाले कर्मचारी गरी अस्पतालमा कुल १ हजार ८६६ जना रहेको भन्दै यी सबै कर्मचारीहरुको स्वास्थ्य बीमा हुने बताए ।
यो बीमा कार्यक्रम १ साउन २०८० देखि नै लागू हुने गरी निर्णय भएको छ । अब कर्मचारीहरुले अनिवार्य रुपमा स्वास्थ्य बीमामा आवद्ध हुने छन् र त्यसमा आवद्ध भए वापत बार्षिक रुपमा तिर्नु पर्ने ३ हजार ५०० रुपैयाँ प्रिमियम वीर अस्पताले सोध भर्ना गरिदिने छ ।
यसअघि वीर अस्पतालले बार्षिक रुपमा अधिकृतस्तरलाई १ महिना वराबर र सहायकस्तरलाई ढेड महिना बराबरको औषधि उपचार खर्च दिने गर्दथ्यो । तर, महालेखा परीक्षकको कार्यालयले सो खर्चलाई बेरुजु निकालेपछि अस्पतालले बार्षिक रुपमा स्वास्थ्य बीमा गर्ने नीति लिएको हो ।
‘कर्मचारीहरुलाई औषधि उपचार खर्च भनेर राज्यले जम्मा गरिदिई नै रहेको हुन्छ । हामीले बार्षिक रुपमा त्यहि शीर्षकमा दिन नमिल्दो रहेछ । पहिले यसरी दिदा महालेखाले बेरुजु निकाल्यो । त्यसैले अब सबै कर्मचारीहरुलाई १ लाख रुपैयाँको उपचार सुविधा दिने गरी बार्षिक ३ हजार ५०० रुपैयाँको प्रिमियम तिरिदिने निर्णय भएको डा. पौडेलले बताए।
सबै भन्दा पुरानो र ठूलो सरकारी अस्पताल बीरमा कर्मचारी र तिनका परिवारको उपचारमा छुट दिनु पर्ने बाध्यता जस्तै हुन्छ । तर अब वीमामा आवद्ध भएपछि कर्मचारी र उनीहरुका परिवारको उपचारका लागि छुट माग्न पनि परेन । उपचार सबै बीमाबाट सोधभर्ना हुने भएपछि अस्पतालको आम्दानी समेत बढी हुने डा. पौडेलले बताए ।
गत १ साउन यता वीमामा आवद्ध भएका कर्मचारीहरुले अस्पतालसंग प्रिमियमवापतको बार्षिक ३ हजार ५०० रुपैयाँ सोधभर्ना लिन सक्नेछन् ।
वीमामा आवद्ध नभएकाहरुले सोमबार र बुधबार सामाजिक ईकाईमा गएर आवद्धता गराउन सक्ने अस्पतालले जनाएको छ ।
डा. पौडेललौ भने, ‘हामीले हरेक सोमबार र बुधबार सामाजिक सेवा ईकाईमा स्वास्थ्य बीमा दर्ता सहयोगीलाई बोलाएर कर्मचारीहरुको फोटो खिचाउने तथा दर्ता गराउने काम गर्दैछौँ । यसले पनि बीमामा आवद्ध हुन कता जाने भन्ने झन्झटबाट कर्मचारीहरुलाई सुविधा हुनेछ,’।