काठमाडौं, १२ साउन २०८२
नेपालकै सबैभन्दा पुरानो वीर अस्पताल १३६औं वर्षमा प्रवेश गरेको छ ।
१३६ औं वार्षिक उत्सवको कार्यक्रममा अस्पतालका निर्देशक डा. दिलिप शर्माले अस्पतालको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विगत एक वर्षको गतिविधि, सेवा विस्तार, भौतिक पूर्वाधार विकास, प्रविधिको प्रयोग, सामाजिक उत्तरदायित्व प्रशासनिक सुधार तथा भावी योजना प्रस्तुत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।
वीर अस्पतालले वि.सं. १९४६ साउन १२ गते १५ शैयाबाट सेवा सुरु गरेपछि हाल ९६० शैया सम्मको क्षमता विस्तार गरी देशको एक प्रमुख केन्द्रीय रेफरल अस्पतालको रूपमा केन्द्रीत रहेको छ।
यो वर्ष बहिरङ्ग तथा अन्तरङ्ग सेवामा उल्लेखनीय वृद्धि भएको छ। २६ हजार भन्दा बढी शल्यक्रिया मध्ये १६२० वटा इमरजेन्सी, १० हजार २२० वटा अन्तरङ्ग र बाँकी बहिरङ्ग मार्फत सम्पन्न भएका छन्।
अस्पतालले हालैका वर्षहरूमा सेवा विस्तारको महत्वपूर्ण चरण पार गरेको छ। बर्न सेवा, केडी जोशी बर्न सेन्टरको रूपमा पुनः सञ्चालनमा आएको छ भने पेन मेडिसिन क्लिनिक, कोक्लियर इम्प्लान्ट सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी र पल्मोनरी क्रिटिकल केयर सेवा जस्ता सुपर-स्पेशियालिटी सेवा सुरु गरिएको छ।
न्युरो सर्जरी विभागबाट भिडियो इइजी र डिप ब्रेन स्टिमुलेसन (डिबिएस) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग सरकारी अस्पतालमा पहिलो पटक गरिएको उल्लेख छ। क्लिनिकल अंकोलोजी विभागबाट अत्याधुनिक टोमोथेरापी मेसिन मार्फत क्यान्सर उपचार सेवा दिइएको छ
अस्पतालले आकस्मिक कक्ष विस्तार गरी ३५ शैया बाट ७० शैयाको मोड्युलर इमरजेन्सी सेवा सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। त्यस्तै, पथ्य भवन निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको र यस आर्थिक वर्षको पुस मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख छ।
आगामी दिनमा सर्जिकल भवन र बहिरङ्ग विभागलाई जोड्ने आकाशेपुल निर्माण, बिरामी कुरुवा घर निर्माण, बहिरङ्ग प्रतिक्षालयमा आधुनिक क्यानोपी निर्माण, र डिजिटल हेल्थ प्रणालीको स्तरोन्नति लगायतका योजनाहरू अगाडि बढाइएका छन्।
यो वर्ष बहिरङ्ग तथा अन्तरङ्ग सेवामा उल्लेख्य वृद्धि देखिएको छ। २६ हजारभन्दा बढी शल्यक्रिया मध्ये १६२० वटा इमरजेन्सी, १०२२० वटा अन्तरङ्ग र बाँकी बहिरङ्ग मार्फत सम्पन्न भएका छन्।
वीर अस्पतालले सामाजिक सुरक्षा कोष, केन्द्रीय कारागार, विपन्न नागरिक, आन्दोलनका घाइते लगायतका लागि क्रेडिटमा उपचार सेवा दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले गरीबी तथा विपन्नका लागि मात्र रु ६ करोड ४५ लाख बराबरको छुट दिएको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३६ हजारभन्दा बढी विमितले बहिरङ्ग सेवा लिएका छन् भने ८ हजारभन्दा बढीले आकस्मिक सेवा तथा ५४ सयभन्दा बढीले भर्ना सेवा लिएका छतर, स्वास्थ्य बीमा बोर्डबाट रु ४६ करोडभन्दा बढी भुक्तानी अझै बाँकी रहेको अस्पतालले जनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतले अस्पतालले सिमित आर्थिक स्रोत र साधनका बावजुत उत्कृष्ठ सेवा उपलव्ध गराउँदै आएको बताउनु भयो । डा. बस्नेतले भने ‘सिमित स्रोत साधनबाट वीरले आफ्नो सेवा प्रवाहलाई चुस्त राखेको छ, हाल दैनिक ३ हजार विरामीलाई अस्पतालले सेवा दिइरहेको छ।’
वार्षिकोत्सबको अवसरमा यस वर्षको उत्कृष्ट विभाग युरोलोजी विभागलाई पुरुस्कार सहित सम्मान गरेको छ।
प्रशासनिक सुधार र डिजिटल हेल्थमा प्राथमिकता
‘सही ठाउँमा सही व्यक्ति’ को अवधारणा सहित मानव स्रोत व्यवस्थापनमा दक्षता र पारदर्शिता कायम गरिएको छ। खरिद प्रक्रिया प्रतिस्पर्धात्मक बनाइएको र गैर प्रयोग योग्य सामानहरू लिलामी गरिएको छ।
डिजिटल हेल्थलाई कार्यान्वयन गर्दै फाइल व्यवस्थापन प्रणाली, विद्युतीय हाजिरी, कर्मचारी अनुगमन प्रणाली, स्वचालित तथ्यांक प्रणाली, तथा युनिक हेल्थ आईडी अनिवार्य गरिएको छ। एकीकृत अस्पताल सूचना व्यवस्थापन प्रणाली लाई दीर्घकालीन रणनीतिक रूपमा लाग गर्ने योजना अघि सारिएको छ।
दुवाकोट परियोजनाः
वीर अस्पतालको दीर्घकालीन विकासमा दुवाकोट स्वास्थ्य परियोजनालाई मेरुदण्डको रूपमा लिइएको छ। हाल बहिरङ्ग मात्र सञ्चालनमा रहेको यस परियोजनामा प्रसूति र वालरोग सेवा पुनः सञ्चालनका लागि पूर्वाधार विकास तीव्र बनाइने उल्लेख गरिएको छ।
चुनौतीहरू र सुधारको आवश्यकता
हाल अस्पतालमा नर्सिङ र एनेस्थेसिया जनशक्तिको कमीका कारण केही सेवा सञ्चालनमा बाधा उत्पन्न भएको प्रतिवेदनमा स्वीकार गरिएको छ। बढ्दो बिरामी संख्यालाई ध्यानमा राख्दै जनशक्ति, उपकरण तथा पूर्वाधारमा लगानी आवश्यक भएको बताइएको छ। अस्पताललाई केन्द्रीय रेफरल केन्द्रको रूपमा पुनःसंरचा गर्न नीतिगत प्राथमिकता आवश्यक भएको प्रतिवदनले बताएको छ। बढ्दो बिरामी संख्यालाई ध्यानमा राख्दै जनशक्ति, उपकरण तथा पूर्वाधारमा लगानी आवश्यक भएको बताइएको छ। अस्पताललाई केन्द्रीय रेफरल केन्द्रको रूपमा पुनःसंरचना गर्न नीतिगत प्राथमिकता आवश्यक भएको प्रतिवेदनले औंल्याएको छ।
अस्पतालका भविष्यका योजनाहरू
आकासे पुलनिर्माण, विरामी कुरुवा घर, बहिरङ्ग प्रतिक्षालयमा क्यानोपी, डिजिटल हेल्थको स्तरोन्नति रेडियोलोजी विभागमा पिएसिएस प्रणाली, प्रसुति तथा बालरोग सेवा पुनः सञ्चालन।