काठमाडौं, २४ असार २०८०
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यालय समय ८ बजेदेखि सुरु हुने भएको छ।
न्याम्स र कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले साउन १ गतेबाट लागु हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको हो।
कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ।
साउन १ गतेदेखि भने बिहान ८ देखि साँझ ४ बजेसम्म कार्यालय समय र त्यसपछि विगतमा जस्तै अन्य सेवा भने निरन्तर रहने छन्।
अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो।
अस्पतालमा दैनिक २ हजार भन्दा बढी बिरामीले ओपिडी सेवा लिने गरेका छन्।