काठमाडौं, ५ भाद्र २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान शैक्षिक पद संघर्ष समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीको कार्यकक्षमा आज देखि तालाबन्दी गरेको छ।
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सम्पूर्ण स्थायी चिकित्सकहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तालाबन्दी सहितको आन्दोलनमा उत्रिएका हुन्।
प्रतिष्ठानबाट पाउनुपर्ने शैक्षिक पदनाम र सेवा सुविधा पाउनका लागि प्रतिष्ठानका पदाधिकारी समक्ष विगत दुई वर्षदेखि पटकपटक आग्रह गरे पनि हालसम्म माग पुरा नभएको भन्दै उनीहरुले ताला लगाएका छन्।
प्रतिष्ठानका पदाधिकारीहरु गैरजिम्मेवार बनेको भन्दै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी तालाबन्दी गरेका छन्। साथै आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।