काठमाडौं, ११ चैत २०७८
वीर अस्पतालले चिकित्सकदेखि स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा सहयोग पुर्याउन सिप सिकाउन नेसनल सिमुलेसन ल्याब (स्कील ल्याब) सञ्चालनमा ल्याएको छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा वीर अस्पतालले सर्जिकल भवनमा सिमुलेसन ल्याब स्थापना गरेको हो। ल्याबका लागि बिहीबार नै विश्व स्वास्थ्य संगठनले ५० लाख बराबरको सामग्री प्रदान गरेको अस्पतालका प्रमुख डा. भूपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यस किसिमको ल्याबले स्वास्थ्यकर्मीको सिप बढाउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने जानकारी दिए। उनले ल्याबको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने पनि बताए।
अस्पतालमा यसअघि अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड बराबरको सामग्री उपलब्ध गराइसकेको डा. बस्नेतले बताए।

देशभरका चिकित्सक, नर्स, लगायत सबै स्वास्थ्यकर्मीलाई तालिम प्रदान गर्न ल्याब सञ्चालन गरिएको उनको भनाइ छ।
यस ल्याबमा चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई सिप सिकाउनका लागि आवश्यक पर्ने आइसीयू, शल्यक्रिया, सिपिआर, एनेस्थेसिया लगायत विभागहरुको नमुनाहरु राखिएको छ। यो ल्याबले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीहरुको सिप विकासमा मद्दत गर्नेछ। जसले गर्दा उनीहरुले उपचार तथा सेवा गर्दा बिरामीले गुणस्तरिय सेवा पाउने डा. बस्नेतको भनाइ छ।
ल्याबमा सिप सिकाउनका लागि विधुतिय रूपमा नियन्त्रित र निर्देशित मानव डमीको व्यवस्था गरीएको छ। मुटु, फोक्सो, हड्डी, बच्चा, लगाएत अन्य विभिन्न जटिल रोगहरुका लागि ल्याबमा डमीको व्यवस्था गरीएको छ। डमीलाई रोगको प्रकृति अनुसार छुट्टाइएको छ। ति डमीमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई रोग अनुसारका कुन अवस्थामा के गर्ने भन्ने सिप सिकाइने छ।