काठमाडौं, २९ असोज २०८०
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को ३० औँ सभा (सिनेट बैठक) विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
आइतबार सम्पन्न बैठकले बैठकले नाक, कान, घाँटीतर्फ स्पीच थेरापीका लागि एक जना अडियोलोजिष्ट, रेडियोग्राफर (एक्सरे गर्ने) पाँच जना, एनेस्थेसिया सहायक पाँच जना, ल्याव टेक्निसियन पाँचौँ पाँच जना पदपूर्तिका लागि दरबन्दी स्वीकृत गरेको छ।
यस्तै फार्मेसीका लागि फार्मेसी सहायक, ३० जना स्टाफ नर्स, इलेक्ट्रिसियन ४ जना, प्लम्बर ६ जना, चालक तथा सहायकसहित गरी १० जनाका लागि पनि दरबन्दी खुलाउने निर्णय भएको छ।
यस्तै बैठकले तीन जना नयाँ सिनेट सदस्य थपेको छ भने तीन जनालाई प्राज्ञिक परिषदमा नियुक्त गरेको छ।
थपिएका नयाँ सिनेट सदस्यमा प्राडा. चोपलाल भुसाल, राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. बद्री रिजाल र कोशी अस्पतालका चिकित्सक डा. दिपक सिग्देल रहेका छन्। त्यसैगरी, प्राज्ञिक परिषद्मा प्राडा. अजित रायामाझी, प्राडा. दीपेन्द्र श्रेष्ठ र प्राडा. सरोज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
न्याम्सका उपकुलपति प्राडा. भुपेन्द्रकुमार बस्नेतका अनुसार प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले वीर अस्पतालका लागि अत्यावश्यक मानिएका प्राविधिक समूहको विभिन्न पदमा दरबन्दी स्वीकृत गरेको हो।