नेपालगञ्जस्थित भेरी अस्पतालमा शल्यक्रियापछि एक बिरामीको सुनको मुन्द्रा चोरी भएको घटनामा अस्पतालकै अस्थायी कर्मचारी संलग्न रहेको खुलेको छ।
बढैयाताल २ बस्ने ५७ वर्षीया रती वली पित्तथैलीको पत्थरीको अपरेसनका लागि वैशाख ५ गते अस्पताल भर्ना भएकी थिइन्। सफल शल्यक्रियापछि उनलाई वार्डमा सार्दा कानमा रहेका दुई वटा सुनका मुन्द्रा हराएको थाहा भयो।
सिसिटिभी फुटेज र अनुसन्धानको आधारमा अस्पतालका २२ वर्षीय अस्थायी कर्मचारी विकास बाल्मिकीले अपरेसनपछि बिरामीलाई सार्ने क्रममा मुन्द्रा निकालेर चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाल्मिकीले गहना घर लगेका थिए र पछि वैशाख ७ गते अस्पतालमै ल्याउँदा नियन्त्रणमा लिइएको हो। उनले चोरी स्वीकार गरिसकेका छन्।
अस्पताल प्रशासनले वाल्मीकिलाई तत्काल जागिरबाट बर्खास्त गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








