चितवन, २३ भदौ २०७९
भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् ।
मेसु डा.कृष्णप्रसाद पौडेललाई हटाएर स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ औं तहका चिकित्सक डा. बगालेलाई पठाएका हुन् ।
डा. बगाले मेसु समूहमा नै कार्यरत चिकित्सक हुन् । उनी यसअघि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान प्रयोगशालामा कार्यरत थिए । उनले रत्ननगर बकुलहर अस्पतालको मेसु भएर लामो समय काम गरेका थिए ।
डा. बगालेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. पवनजंग रायमाझी, उपचारात्मक महाशाखाको निर्देशकमा डा. अनुप बास्तोला, सार्क क्षयरोग केन्द्रमा यसोधा अर्याल, राष्टि्य सूचना तथा सञ्चार केन्द्रमा विजयकुमार झा, सुनील शर्मा प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेश, महेश्वर श्रेष्ठको काज फिर्ता र किटजन्य रोग प्रयोगशालामा केशव पण्डितलाई जिम्मेवारी दिईएको छ।