भक्तपुर, ३० साउन २०८१
मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुर स्थित भक्तपुर क्यान्सर अस्पतालको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
आकस्मिक रुपमा भक्तपुर क्यान्सर अस्पताल पुगेका स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयको ९ बुँदे निर्देशनको कार्यान्वयन बारे स्थलगत निरीक्षण गरेका हुन्।
अस्पतालका निर्देशक डा. उज्जवल चालिसेले थप सेवाहरु शुरु गरिएको बारेमा जानकारी दिदै कोवाल्ट रेडियोथेरापि, टिकटमा टोकन प्रणाली, अनलाइन टिकट, तथा ऐक्सटेन्सन हेल्थ सर्भिसबारे जानकारी दिनुभयो।
निरिक्षणका क्रममा प्रदेश सरकारले हालै घोषणा गरेको क्यान्सर रोग उपचार सहायतामा ५० हजार थप हुने व्यवस्था लागु हुने पनि जानकारी दिइयो।
मन्त्री पौडेल सँगै भक्तपुर क्यान्सर अस्पतालको अनुगमनमा पुगेका प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेश सरकारले यस अघि दिदैँ आएको क्यान्सर रोग उपचार सहायताको ५० हजारमा थप ५० हजार उपचार सहायता रकम थप गरेर प्रदेशले पनि केन्द्र सरकारकै जति एक लाख दिने निर्णय भएको बताएका छन्।
मन्त्रालयले क्यान्सर रोग पीडितहरुको उपचारमा थप टेवा तथा सहयोग पुगोस् भन्ने उदेश्यले थप ५० हजार दिने निर्णय गरिसकेको तथा चाडै कार्यान्वयन ल्याउन मन्त्रलयले काम गरिरहेको अस्पताल अनुगमन पुगेका मन्त्री थापाले बताए।
सरकारले अहिले क्यान्सर रोगीहरुलाई उपचार सहायता स्वरूप केन्द्र सरकारबाट एक लाख र बागमती प्रदेश सरकारको ५० हजार गरी एक लाख ५० हजार उपचार सहायता दिँदै आएको छ। अब प्रदेशको ५० हजार थपिए पछि क्यान्सर रोगीले दुई लाख सरकारी उपचार सहायता पाउनेछन्।
अनुगमनको क्रममा केन्द्र सरकारका स्वास्थ्य मन्त्री पौडेलले भक्तपुर अस्पतालले शुरु गरेका अनलाइन सेवा, टोकन प्रणाली, कोवाल्ट रेडियोथेरापि लगायतका सेवा थप गरेर बिरामीलाई थप सहज बनाएकोमा खुशी व्यक्त गरे।
साथै मन्त्री पौडेलले निरीक्षणको क्रममा अस्पतालमा देखिएको समस्या र अभावलाई चाडै समाधान गर्ने समेत अस्पताल प्रशासनलाई बताएका छन्।
मन्त्री पौडेल र थापालाई अस्पतालका निर्देशक डा. उज्वल चालिसे सबै वार्डको स्थलगत अनुगमन गराएका थिए।
त्यस्तै डा. चालिसेले भक्तपुर अस्पतालमा रेडिएसन थेरापीका लागि दुई वटा मेसिन सञ्चालनमा ल्याइएको बताउदै यसअघि एउटा मेसिनले दैनिक एक सय हाराहारीमा थेरापी दिएकोमा अब त्यो बढेर दैखिक डेढ सय बढी नाघ्न थालेको बताए । उनले सिटिस्क्यान मेसिन पनि थपिएर दुईवटा भएको, शल्यक्रिया कक्ष तीनवटामा दुई थपिएर पाँचवटा भएको र सञ्चालनमा समेत आइसकेको बताए। पाँचवटा ओटी चल्दा पहिले दुई चार साता लाग्ने शल्यक्रिया अब एक साता बढी कुर्न नपर्ने गरी सुधार गरिएको सुनाए।
मन्त्री पौडेल र थापालाई अस्पताल अनुगमन गराउने क्रममा उनले क्यान्सर उपचारका लागि चाहिने अझ केही अत्यावश्यक मेसिन नभएको जानकारी गराएका छन्। ‘एमआरआई छैन, पेट सिटी जस्ता मेसिन छैन। यी पनि भयो भने अझ सहज हुने थियो,डा. चालिसेले भने।
अस्पतालले सिटी र रेडियोथेरापी सेवाहरु थपे पनि जनशक्ति थप्न नसकेको बताए। आवस्यक जनशक्तिहरु पदपूर्ति गर्न अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको बताए। ‘त्यहाँबाट स्वीकृति भएर आयो भने हामीले आवश्यक पर्ने जनशक्ति पदपूर्ति गर्नेछौँ र सेवालाई अझ चुस्त बनाउने छौँ डा. चालिसेले मन्त्रीसँग भने।
दैनिक ४५० देखि ६५० सम्म ओपिडीमा आउने भक्तपुर अस्पतालमा मेडिकल अफिसर देखि कन्सल्टेन्ट तहसम्मका गरी ५० जनाको आसपासमा कार्यरत छन् । यो संख्या आफैमा न्युन हो। यता अस्पतालको स्वीकृत बेड पनि १२५ मात्रै हो।
‘यसलाई बढाएर ३०० बनाउन पर्ने छ। नभए पनि तत्काल २०० सम्म त बढाउनै पर्ने आवश्यक छ, डा. चालिसेले भने। यता मन्त्री पौडेलले अस्पताल देखिएको अभाव लाई चाडै समाधान गर्न संघ तथा प्रदेश सरकारले पहल गर्ने बताएका छन्।