बाजुरा, ५ साउन २०८०
जिल्ला अस्पताल बाजुरामा अब हाडजोर्नी सम्बन्धी जटिल प्रकारका शल्यक्रिया पनि सुरु हुने भएको छ ।
सिआर्म मेसिनको सहायताबाट जटिल प्रकृतिका हाडजोर्नी सम्बन्धी शल्यक्रिया आजबाट सुरु भएको जिल्ला अस्पताल बाजुराका हाडजोर्नि तथा नशारोग विशेषज्ञ डा. रोसन भटराईले जानकारी दिनुभयो ।
अस्पतालमा आज एकजना बालकको सिआर्म मेसिनबाट हाडजोर्नीसम्बन्धी शल्यक्रिया गरिने डा. भटराईले बताएका छन् । अहिले ल्याएको मेसिनको सहायताले मानिसको शरीर भित्रको हड्डी मिलाएर उपचार गर्न धेरै सहज हुने उनको भनाइ छ । बाजुरा अस्पतालमा यसअघि सामान्य खालका हाडजोर्नीको अप्रेशनहरु हुदै आएको थियो। पहिले जटिल खालको अप्रेशन गर्नका लागि बयालपाट, धनगढी र नेपालगन्ज लगायतका ठाउँमा रिफर गर्ने गरिन्थो ।
अहिले सी आर्म मेसिन ल्याएपछि हाडजोर्नी सम्बन्धी जटिल अप्रेशन जिल्ला अस्पताल बाजुरामै सुरु हुने अस्पताल व्यवस्थापन समितीका अध्यक्ष मान बहादुर कार्कीले बताएका छन् । यसले जिल्लाबासीलाई धेरै सहज हुने र हाडजोर्नी सम्बन्धी महङ्गो खर्च तिरेर बाहिर उपचार गर्न जानुपर्ने बाध्यता हट्ने उनले बताए । अब अत्यन्तै जटिल र जिल्लामै गर्न नसकिने खालका केशहरु मात्र बाहिर पठाइने अध्यक्ष कार्कीको भनाई छ ।
उक्त मेसिनको आज अर्थात विहिबार बडिमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले मेसिनको बटम थिचेर उद्धघाटन गर्नु भएको हो । सिआर्म मेसिन उद्घाटन कार्यमक्रममा प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का र नगरप्रमुख खड्काले जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितीलाई प्रशंसा गर्नु भएको छ ।
शुदुरप्रश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत लामो समय पछी जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष मान बहादुर कार्कीको समन्वयमा उक्त मेसिन जिल्ला अस्पतालमा पुगेको जनाएको छ ।
सि–आर्म एक प्रकारको एक्स–रे मेशिन हो । बिरामीको शल्यक्रियाका क्रममा स्कुप, प्लेट तथा पाता हाल्दा सि–आर्म मेशिनको सहयोगले हालिन्छ । सामान्य किसिमको शल्यक्रिया सि–आर्म बिनै गर्न सकिए पनि जटिल किसिमको शल्यक्रिया सिआर्म मेशिन बिना गर्दा त्रुटी हुनसक्ने चिकित्सक बताउँछन् । यस भन्दा अघी बाजुरामा प्रसुतिको अप्रेशन, सामान्य हाडजोर्नी, लगायतका अप्रेशन भइरहेको थियो ।