असोज १ गते , बैतडी
जिल्ला अस्पताल बैतडीमा जडान गरिएको पीसीआर ल्यावको बिहीवार उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन बन तथा बातावरण मन्त्री माया भट्टले संयुक्त रुपमा आज ल्याबको उद्घाटन गर्नुभएको हो ।
बिहीवार पीसीआर ल्यावको उद्घाटन गएिको जानकारी दिदै जिल्ला अस्पताल ब्यवस्थापन समीतीका अध्यक्ष पार्वती भट्टले ल्याब स्थापनापछि बैतडीमै कोरोना भाइरसको पीसीआर परीक्षण हुने बताउनुभयो ।
यसअघि कोरोना भाइरस परीक्षण गर्न काठमाडौं, धनगढी र अडडेल्धुरा अस्पतालको पीसीआर ल्याबमा स्वाब पठाउनु पर्ने अवस्था थियो । बैतडीमै पीसीआर मेशिन जडान भएपछि बैतडी लगायत छिमेकी जिल्ला दार्चुलालाई पनि सहज हुने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला सञ्चालनमा आउन लागेको हो ।
बैतडीसंगै डोटी र कैलालीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय भएकोमा ती ठाउँमा यसअघि नै प्रयोगशाला सञ्चालनमा आइसेकेका छन् ।