दाङको घोराहीस्थित रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएसंगै बिरामीलाई जिल्लामै उपचार गर्न सजिलो भएको छ।
मुटु रोग विशेषज्ञहरुको टोलीले दुई बिरामीको सफलतापूर्वक एन्जियोप्लास्टि गरेपछि नयाँ सेवाले स्वास्थ्य क्षेत्रमा उपलब्धि ल्याएको छ।
प्रतिष्ठानले १० करोड बराबरका सामग्री ल्याएर सेवा सुरु गरेकोले बिरामीलाई बाहिर जानुपर्ने समस्या हटेको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले दुईजना बिरामीको एन्जियोप्लास्टि गरेको थियो।
पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसंगै हृदयघात(हर्टअट्याक) भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताउनु भयो। डा. देवकोटाका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रकालागि एउटा उपलब्धी हो।
एन्जियोप्लास्टि गरिएका बिरामीहरुको अबस्था सामान्य रहेको मुटु रोग विशेषज्ञ डा. उप्रेतीले बताउनु भयो।
यस अघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अबस्था रहेको थियो। अब भने यो समस्या हटेको डा. उप्रेतीले बताए। उक्त उपचारका लागि क्याथेल्याबसहित १० करोड बराबरका सामग्री ल्याईएको छ। यसरी सामग्री तयारी गरेपछि पहिलो पटक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर देवकोटालाई ल्याएर सेवालाई सुरुवात गरिएको छ।
प्रतिष्ठानबाट केही दिन अघि एन्जोयोग्राफी सेवा दिईएको थियो। यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा. जनार्दन पन्थीले बताए।
विपन्न नागरिक औषधि उपचार कोषमा सूचिकृतकालागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने प्रतिष्ठानका निमित्त डिन प्राडा. रमेश कडेलले बताए। हाल मुटुको उपचारकालागि एक लाख भन्दा बढि खर्च लाग्ने गरेको छ। प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको थियो।






