काठमाडौं, १४ जेठ
कोरोना भाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ ।
वल्र्डओमिटर्सका अनुसार नेपाली समयानुसार बुधबार बिहान मृत्यु हुनेको संख्या एक लाख नाघेको हो । विश्वभर यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको अमेरिका पहिलो देश हो ।
अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलो पटक देखिएको थियो । अमेरिकामा त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो ।
गत वर्ष सन् २०१९ डिसेम्बरको अन्त्यतिर चीनको उहानमा पहिलोपटक देखिएको कोरोनाभाइरसले फेब्रुअरीसम्ममा धेरै व्यक्तिको ज्यान लिइसकेको थियो भने जनवरी २२ मा १७ जनाको मृत्यु भएसँगै उहानमा लकडाउन जारी थियो ।
अमेरिकामा भने कोरोनाभाइरसबाट फेब्रुअरी २९ मा मात्र पहिलो व्यक्तिको मृत्यु भएको थियो । मार्च र अप्रिल महिनामा अमेरिकामा मृत्युदर अत्यन्त बढी थियो । अप्रिल १५ मा एकै दिन २६ सयको ज्यान गएको थियोे । लकडाउन, सामाजिक दूरी र अन्य कडा नियमको कार्यान्वयनका कारण यद्यपी मे १२ देखि मृत्युदरमा सामान्य कमी आएको छ, र यो दैनिक एक हजारभन्दा मुनि छ ।