काठमाडौं, ११ वैशाख २०८०
एड्स हेल्थ केयर फाउण्डेशन (AHF) नेपालले सरकार संग थप ५ वर्ष सहकार्य गर्ने भएको छ। एचआईभी संक्रमितहरुको समाजमा पुर्नस्थापना, संक्रमण थप फैलिन नदिन र एचआईभी लाग्न नदिनका लागि पुर्व सचेतना लगायतका विविध विषयमा सबैजनाले साझा पहल गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् ।
काठमाडौंमा एड्स हेल्थ केयर फाउन्डेसन नेपालले आयोजना गरेकोे पञ्चबर्षिय परियोजना शुभारम्भ बारे जानकारी दिन आयोजित सरोकारवालाहरुको बैठकमा सहभागीहरुले एचआईभीको संक्रमण शुन्यमा पुर्याउनको लागि सबै जनाले हातेमालो गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिशा रावलले एएचएफले विगतमा राम्रो काम गर्दै आइरहेको र आगामी दिनमा पनि अझै राम्रो काम गर्नको लागि शुभकामना व्यक्त गर्नुभयो।
वीर अस्पतालकी नर्सिङ प्रशासक संगीता श्रेष्ठले एएचएफले अनुसन्धानमा पनि विशेष जोड दिनुपर्ने बताउँदै नयाँ कामको शुरुवातको लागि शुभकामना दिइन्।
कार्यक्रममा ए.एच् एफ् नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले नेपालमा एचआईभीको संक्रमण दर नियन्त्रण सहित संक्रमितहरुको सेवा र उनीहरुको उपचारका लागि संस्थाले काम गर्दै आएको बताए । जोशीले नयाँ सुरुवात भएको पञ्चबर्षिय परियोजनाले एचआईभी संक्रमितहरुको उपचार सहित आय आर्जन लगायतका विषयमा काम गर्ने बताएका हुन् ।
कार्यक्रमको परियोजना बारे जानकारी दिदैं एएचएफ नेपाल काठमाडौं जिल्लाका संयोजक राधेश्याम श्रेष्ठले काठमाडौं जिल्लामा एचआईभी संक्रमितहरुको लागि काम गर्न सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ नोभेम्बर १० सम्मका लागि करिब ७ करोड ७० लाख रुपैयाँ आर्थिक सहायता प्राप्त भएको जानकारी दिँदै यस सहयोगले एचआइभी संक्रमितहरुको उपचारमा पहुँच बढाउने बताए।
उनले नेपाल सरकारको विभिन्न निकायहरुमा मासिक, चौमासिक, अर्धवार्षिक र बार्षिक रुपमा पुर्व निर्धारित माध्यमहरु मार्फत प्रगति विवरण समेत उपलब्ध गराउने बताएका थिए। योजनाको मुल लक्ष्यमा नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१–२०२६ ले परिकल्पना गरेको लक्ष्य प्राप्ती गर्नका लागि एचआईभीको सेवा गुणस्तरिय बनाउँदै एआरटी केन्द्रबाट सेवा प्रदान गर्न सहयोग पुर्याउने गरेको संयोजक श्रेष्ठले जानकारी दिए ।