काठमाडौं , १७ फागुन २०७७
नेपाल आयुर्वेद चिकित्सक संघले सिंहदरबार वैद्दखाना विकास समितिको वर्तमान प्रवन्धक निर्देशकको पदावधि समाप्त भएको भन्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सिंहदरवार वैद्यखाना विकास समितिको वर्तमान प्रवन्ध निर्देशकको पदावधि समाप्त भएको अवस्थामा नेपाल सरकारबाट हालै जारि गरिएको सिंहदरवार वैद्यखाना विकास समिति गठन आदेश २०७७ अनुसार आयुर्वेद समूहको एघारौं तहको अधिकृतवाट नियुक्ति हुने प्रावधान रहेको छ।
वैद्यखानाको विकास, विस्तार र व्यवसायिकरणको लागि स्थिर प्रशासन जरुरी देखिन्छ। स्थिर र पूर्ण कार्यकाल सहितको प्रमुख नहुने हो भने संस्था धरासायी हुने अवस्था रहेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
डा. ज्ञवाली भने ; आयुर्वेद औषधिहरु विश्वमा लोकप्रिय हुदै गएका र कोरोनामा महत्वपूर्ण भूमिका खेलेको अवस्थामा धेरै लामो इतिहास भएको यस औषधि उत्पादक संस्थालाई गम्भीर भै सवल नेतृत्व दिनु आजको आवश्यकता हो। त्यसैले सरकार आफैले जारि गरेको गठनादेश विपरित हुने गरि कार्यकारी नियुक्त नगरियोस भनि माननीय मन्त्री ज्युलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ।
गठन आदेश बिपरित हुने क्रियाकलाप संघलाई स्वीकार्य नहुने कुरा समेत अनुरोध गर्दै सवल, सक्षम तथा विधिसम्मत कार्यकारी नियुक्त गरि संस्थाको सवलिकरण तथा विधिको शासनको प्रत्याभुति होस भनि यो संघ जोडदार माग राख्दछ।