काठमाडौं , १९ जेठ
नेपाल आयुर्वेद चिकित्सक संघको पहलमा र नेपाल आयुर्वेद औषधि उत्पादक संघको सहकार्यमा आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीहरुको पहिचानको लागि ५ सय थान ज्याकेट हस्तान्तरण गरेको छ। कोभिड १९ र बन्दाबन्दीको बर्तमान समयमा नेपाल सरकारका विभिन्न स्वास्थ्य संस्था , अस्पताल, तथा निजी स्वास्थ्य संस्थामा सेवा गरिरहनु भएका आयुर्वेद चिकित्सकहरु र आयुर्वेद स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनको लागि सहयोग गरेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिनोद पौडेलले जानकारी दिए। पौडेलका अनुसार आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विभिन्न रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधि तथा योगको समुचित प्रयोगबाट कोरोनाको उपचार तथा रोकथामको लागि अत्यन्तै महत्त्वपूर्ण योगदान भएको बताए। साथै कोरोनाको फ्रन्ट लाइनमा रहेर खटिनु हुने आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई विभिन्न कोरोना अस्पतालमा र अन्य ठाउँमा आवतजावत गर्न पनि सजिलो हुने पौडेलले बताए।
सो अवसरमा उत्पादक संघका उपाध्यक्ष मानबहादुर साउदले अबका दिनहरुमा नेपालको मौलिक आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व झन बढी रहेको र आयुर्वेदका सबै सरोकारवालाहरु एकताबद्ध भइ आयुर्वेद बिज्ञानमा उल्लेख भए बमोजिमको जीवनचर्या अपनाउनका लागि सबैमा चेतना जगाउन तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो। साथै यहाँ व्यवसायको कुरा होईन जीवनको कुरा हो जीवन रहे व्यवसाय भोलि नि गरौंला । यसर्थ मानवजाति एकजुट भइ कोरोनाको विरुद्ध लड्नु र रोगलाई जित्नु सबैको कर्तव्य हो भनी बताए।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले कोरोनाको उपचारमा आयुर्वेद उपचार र औषधि निकै प्रभावकारी भइरहेको र आयुर्वेद चिकित्सकहरुले देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन, आइसोलेसनहरुमा बिरामीको सेवा गरिरहेको बताए। नेपाल आयुर्वेद उत्पादक संघ र नेपाल आयुर्वेद चिकित्सक संघको सधैं भरी यस्तै गरि सहकार्य रहिरहने पनि डा.ज्ञवालीले बताए।