एक तिहाई जति महिलामा आङ खस्ने समस्या

फागून २५ : भोजपुरको हतुवागढीमा पाठेघर खस्ने (आङ खस्ने) समस्या भएका महिलाको संख्या अत्यधिक रहेको पाइएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा रोट्र्याक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्त्री रोगअन्तर्गत ३ सय जनाको परीक्षण गरिएकोमा १ सय बढीमा आङ खस्ने रोग भेटिएको थियो । ८३ जनालाई रिङ पेसरी लगाएर अस्थायी समाधान गरिएको शिविरमा उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृष्ण महर्जनले बताए ।

बालविवाह, कम उमेरमा गर्भवति हुने, भारी सामान उठाउने, पोषक तत्व कम हुने, वर्षेनी बच्चा जन्माउनेलगायत कारणले हतुवगढीका महिलामा आङ खस्ने समस्या बढी देखिएको हुनसक्ने शिविर संयोजक विजयानन्द यादवको आकलन छ । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नेमा बालविवाह गरेका कम उमेरका १५ बालिका पनि थिए ।

दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आङ खस्ने समस्यापछि हाडजोर्नीका समस्या भएका बिरामी धेरै पाइएको थियो । शिविर संयोजक तथा रोट्र्याक्ट क्लबका लागि प्रमुख संयोजक प्रतिक्षा केसीका अनुसार यो संख्या करिब ३ सय थियो । हाडजोर्नीका बिरामी बढी भेटिएको सम्बन्धमा भने थप अनुसन्धन नै गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताए ।

थप उपचार गर्नुपर्ने देखिएका बिरामीलाई प्रतिष्ठानमा बोलाइएको थियो । शिविरमा ६० भन्दा बढी चिकित्सक, नर्स र प्राविधिकहरू सहभागी थिए । एक तिहाई महिलामा पाठेघर खस्ने समस्या देखिएपछि यसको उपचारका लागि सबै पक्ष लाग्नु पर्नेमा सरोकारवाला महिलाले जोड दिएका छन ।

Next Post
ADVERTISEMENT