भरतपुर केन्द्रीय अस्पतालले कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि थप रु २५ लाखको बीमा गरिदिने भएको छ । नेपाल सरकारले तोकेभन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्तासमेत पाउने भएका छन् ।
केन्द्रीय अस्पताल बनेपछि विकास समिति गठनसँगै बिहिबार बसेको पहिलो बैठकले सरकारले कर्मचारीलाई रु २५ लाखको बीमा गरिदिएकामा अर्को रु २५ लाखको बीमा थप गर्ने निर्णय गरेको हो । सरकारले कोरोनाको आशङ्का गरिएका र सङ्क्रमित बिरामीको उपचारमा संलग्न हुनेलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने यसअघि नै घोषणा गरिसकेको छ ।
विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार उपचारमा संलग्नलाई आवश्यक व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराउने र क्वारेन्टाइनमा बस्नुपर्नेका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना नियन्त्रणका लागि भरतपुर अस्पतालको नेतृत्वमा दुई वटा मेडिकल कलेज र निजी अस्पताललाई समेत समावेश गरी कोरोनाको सङ्क्रमणको आशङ्का र सङ्क्रमित भएकालाई उपचारको आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय गरेको छ ।
त्यस्तै मुलुक बन्दको यस अवस्थामा कोरोनाको आशंका गरिएका बिरामीलाई चिकित्सकको परामर्शमा अस्पतालले एम्बुलेन्स घरमा नै पठाएर उनीहरुलाई अस्पताल ल्याउने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो ।