काठमाण्डौ, ८ माघ २०७८
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले विश्वमा तत्काल कोभिड महामारीको अन्त्य नहुने बताएका छन्।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक गेब्रेयससले संसारभर ओमिक्रोनको अस्वभाविक वृद्धिसँगै नयाँ–नयाँ भेरियन्ट देखिन सक्ने चेतावनी पनि दिएका छन्। ‘त्यसैले तत्काल कोभिड महामारी अन्त्य हुने देखिँदैन’, उनले भने, ‘यही कारण कोभिड महामारीको निगरानी तथा मूल्यांकन गर्न आवश्यक छ।’
गेब्रेयससले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्य ठान्नु भ्रम हुने पनि बताएका छन्। ‘ओमिक्रोनले कोरोनाबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नुसमेत गलत हुनेछ’, उनले भने।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो। ‘ओमिक्रोनका कारण मानिसहरु अस्पताल भर्ना भइरहेका छन्, मानिसको मृत्यु पनि भइरहेको छ’, उनले भने, ‘सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्याधिक भीडभाड भएको छ।’
गत सातामात्रै विश्वभर १ करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि गेब्रेयससले बताए। ‘थुप्रै मुलुकहरुमा खोप लगाउने मानिसको संख्या कम रहेको छ’, उनले भने, ‘खोप नलगाएका मानिसहरु गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिम छ।’ –एजेन्सी