काठमाडौं २१, जेठ
नेपालमा पछिल्लो ७ दिनमा नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमित १ हजार ३२७ जनामा थपिएका छन् । गत जेठ १४ गतेदेखि जेठ २० गते मंगलबारसम्म (सात दिनमा) १ हजार ३२७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत जेठ १३ गतेसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ थियो ।
सात दिनअघि देशका ४७ जिल्लामा कोरोना संक्रमण फैलिएको थियो भने आजससम्म देशका ६१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । आज पर्वत र प्यूठान जिल्ला पनि थपिएका छन् ।सात दिनअघि कोरोना निको हुनेको संख्या १८३ थियो भने आजसम्म कोरोना निको हुनेको संख्या २६६ पुगेको छ । सात दिनमा निको हुनेको संख्या ८३ ले बढेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमणबाट ५ प्रदेशका आठ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो ७ दिनमा चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेहरूमा कर्णाली प्रदेशको दैलेखका ३५ वर्षका पुरुष, वाग्मती प्रदेशको ललितपुरका ५६ वर्षका पुरुष र सुदूरपश्चिम प्रदेशको बाजुराकी २ वर्षकी बालिका रहेका छन् । हाल सम्म कोरोनाको लडाइँ जितेर घर फर्किनेको संख्या २५२ पुगेको छ भने कोरोना सन्क्रमितको संख्या २०९९ रहेको छ।