काठमाडौं, १३ मंसिर २०८१
गङ्गालाल अस्पतालमा मुटुलाई नरोकी गरिने पूर्ण बाइपास सर्जरी (complete revascularization) सुरु गरेका छ। यसलाई OFF PUMP CABG वा BEATING HEART CABG भनिन्छ।
मुटुका सम्पूर्ण नलीहरूको वाइपास गर्न थालेका छौं। २ देखि ५ वटा सम्म ग्राफ्ट हालिरहेका छौं, जुन नेपालमा पहिलोपटक सुरुआत हो।
गंगालाल अस्पतालका कार्डियक सर्जन डा. विश्व पोखरेलसँग हेल्थ न्युज नेपाल डटकमका सम्पादक नम राज भट्टले गरेको कुराकानीका आधारमा।
* मुटुलाई नरोकी गरिने बाइपास सर्जरी भनेको के हो ?
# मुटुका रक्तनलीहरु बन्द भएर हार्ट एट्याक भइसकेपछि वा हुनुभन्दा अगाबै शल्यक्रिया गरेर उपचार गर्ने पद्धतिलाई (CABG ) बाइपास सर्जरी भनिन्छ। साधारणतया मुटुलाई Heart-Lung Machine मा जोडेर मुटुलाई रोकी त्यसमाथि शल्यक्रिया गरिन्छ। खुट्टा र छातीभित्र बाट रक्तनली का टुक्राहरू निकालेर मुटुमा लगेर सिलाई गरिन्छ।
– तर हामीले सुरु गरेको यो पद्धतिमा मुटु रोकिँदैन। ठूला मेसिनको प्रयोग हुँदैन र साइड इफेक्टलाई कम गरेर सफल सर्जरी गर्न सकिन्छ।
* के यो नयाँ प्रविधि वा पद्धति हो?
# मुटुलाई बन्द गराउन धेरै औषधि दिनुपर्छ र मुटुको काम मेसिनले गराउदा बिरामीलाई प्रत्यक्ष असर परेको हुन्छ । चलिरहेको मुटुमा सोहि सर्जरी गर्न सकेमा बिरामीलाई फाइदा हुन्छ भन्ने धारणाले बिदेशमा धेरै पहिले यस्तो सर्जरी सुरु भएको हो।
अहिले भारतमा ९५% भन्दा धेरै सर्जरी यसै पद्दतिबाट हुन्छ। नेपालमा भने कहिलेकाहीँ एउटा मात्र नली जोड्नु पर्दा यस्तो सर्जरी गर्ने गर्दथ्यौ । तर अहिले आएर सबै बिरामीलाई पूर्ण रुपमा बाइपास गरिराखेका छौं । आजकल नियमित १ देखी २ जनाको यस्तो सर्जरी गर्ने गर्छौ।
* यो पद्धतिबाट उपचार गर्नुको फाइदा के छ?
- पुरानो तरिकाको पद्धतिभन्दा खर्च झन्डै आधा हुन्छ ।
- अस्पतालको बसाइ छोटो हुन्छ ।
- यो पद्धतिबाट सर्जरी गर्दा सबै बिरामीलाई फाइदा छ, तर बिशेष गरी मुटु कमजोर भएका, लेफ्ट मेन डिजिज, मुख्य धमनीमा समस्या भएका, बृद्ध उमेर, कलेजोका रोगी, मस्तिष्कघात भएका, मृगौला खराब भएका, दमरोगी र भर्खर मात्र हर्ट ट्याक भएका बिरामीलाई यो पद्धतिबाट सर्जरी गर्दा प्रत्यक्ष फाइदा हुन्छ।
- विश्वभरको अनुसन्धान अनुसार, यस सर्जरी पछीको परिणाम उत्तिकै फाइदाजनक छ ।
* यति धेरै फाइदा हुन्थ्यो भने पहिले किन गर्नु भएन ?
- यो पद्धतिबाट सर्जरी गर्न निकै कठिन मानिन्छ । यसमा डाक्टरको सीप र सिद्धताको धेरै ठुलो महत्व हुन्छ ।
- चलिरहेको मुटुमा कपाल जत्रो मसिनो धागोले साना साना नलीलाई जोड्नु आफैमा मुस्किल काम हो।
- तालिम अवधि धेरै लामो छ।
- विदेशमा पनि कम्तिमा ७५ जनाको मुटु रोकेर बाइपास सर्जरी गरेपछि मात्र यो सर्जरी गर्ने अनुमती दिइन्छ ।
- म आफैले पनि १००० जना भन्दा धेरै बिरामीमा बाइपास गरिसकेर, म तयार छु भन्ने लागेपछी मात्र यो पद्धति सुरु गरेको हो ।
* अहिले आएर तपाईँले सुरु गर्नुको कारण के हो?
# यही सर्जरी गराउन बर्षेनी हजारौं बिरामी भारत जान्छन्।
देशको आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै गरिबीको कारणले उपचार नपाएर वा माथि उल्लेखित जटिल रोगहरु लागेका बिरामीलाई वा पैसा नपुगेर कसैको हर्ट एट्याकले ज्यान जानु हुन्न। अब पनि नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्छ भन्ने खालका सोचहरुले पनि सुरु गराएको हो ।
* यो सर्जरी गर्दाको कठिनाइहरू के के छन्?
- नयाँ काम जे गर्दा पनि गार्हो हुन्छ ।
- असल उपकरण र दक्ष जनशक्तिको भूमिका ठुलो छ ।
- एनेस्थेसीया दिने डाक्टरहरुको पनि ठुलो भूमिका रहन्छ । यसमा विशेष गरी डा. आशिष अमात्यको टोलीले धेरै ठुलो जिम्मेवारी लिनु भएको छ । उहाँहरुको पूर्ण भूमिकाले गर्दा हामी काम गर्न सफल भएका हौँ।
* यो सर्जरी सुरु गरेपछिको परिणाम कस्तो छ?
# कुनै पनि विकसित देशहरु तथा भारतको परिणाम जस्तै छ । बिरामीहरुलाई फाइदा पुगेको छ । माथि उल्लेखित जटिल रोग लागेकोलाई पनि सजिलै उपचार गरेर घर पठाउन सकेका छौं ।
* अन्त्यमा सर्वसाधारणलाई के सन्देश दिन चाहनुहुन्छ?
मुटुका रक्तनलीहरु बन्द भएर हार्ट एट्याक भइसकेपछि वा हुनुभन्दा अगावै जाली हालेर क्याथ ल्याबमा उपचार गर्ने गरिन्छ । तर सबैलाई यो बिधीबाट उपचार गर्न मिल्दैन वा सकिदैन । त्यस्ता बिरामीलाई हामी बाइपास सर्जरी गर्ने गर्छौं । तर सबै हर्ट ट्याक रोगलाई पनि बाइपास वा जाली हाल्नु पर्दैन । कोहीलाई त औषधि मात्र दिएर पनि घर पठाउन मिल्छ ।
यस्तो अवस्था आएमा मुटु रोकेर वा अब देखी नरोकिकन पनि बाइपास सर्जरी गर्न सकिन्छ । एकपटक हामीलाई गङ्गालाल अस्पतालमा देखाउनु होला, सल्लाह लिनुहोला । सरकारी सुबिधा सहित हामी काम गर्नेछौं र बिदेश धाउनु पर्ने जरुरी छैन ।