काठमाडौं, २० मंसिर २०८१
महिला स्वास्थ्य स्वयंसेविकाले सरकारको इज्जत धान्ने काम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललले बताउनुभयो ।
बिहिवार २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा. पोखरेलले यस्तो बताएका हुन् । महिला स्वास्थ्य स्वयंसेविकाले सरकारको कामलाई धेरै सजिलो बनाइदिएको भन्दै डा. पोखरेलले धन्यवाद दिनुभयो ।
‘स्वास्थ्यमा भएका उपलब्धिमा उहाँहरुको भूमिका ठूलो छ्’ डा.पोखरेलले भन्नुभयो, ‘महिला स्वास्थ्य स्वयंसेविकाले सरकारको इज्जत धान्ने काम गर्नुभएको छ, उहाँहरुकै कारण सवास्थ्यमा आज सरकार छाती फुलाएर हिँड्न पाएको छ ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम स्वास्थ्य मन्त्रालयको एकदमै प्राथमिकतामा परेको कार्यक्रम रहेको डा. पोखरेलले बताउनुभयो ।
स्वास्थ्य स्वयंसेविकाहरुलाई अन्य क्षेत्रले पनि प्रयोग गर्ने गरेकाले स्वास्थ्यसँग समन्वय गरेर मात्रै अन्य काममा लगाउनु पर्ने धारणा उहाँले राख्नुभयो ।
स्वयंसेविका भन्दैमा जसले पनि बिना पैसा काम लगाउन नमिल्ने डा. पोखरेलको भनाइ छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सिस्टममा ल्याउने र अपग्रेड गर्न सरकारले तयारी गरिरहेको डा. पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियो । महाशाखाकी निर्देशक हिराकुमारी निरौलाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका कामसँगै समुदायमा सचेतना, सरसफाई र महिला हिंसाविरुद्धमा समेत काम गरिरहेको जानकारी दिनुभयो । सरुवा रोग र महामारीमा समेत स्वास्थ्य स्वयंसेविकाले विशेष भूमिका निर्वाह गरिरहेको निरौलाले जानकारी दिनुभयो ।
काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपालले आफूहरुले आफ्ना नगरका महिला स्वास्थ्य स्वयंसेविकालाई विशेष प्राथमिकता दिएको बताउनु भयो । यातायात खर्चवापत केन्द्र सरकारले दिएको १२ हजार रुपैयाँमा मण्डन देउपुर नगरले १८ हजार थप गरेर दिने गरेको नेपालले जानकारी दिनुभयो।
महिला स्वास्थ्य स्वयंसेविकालाई उनीहरुले रोजेको नेपालको कुनै स्थानमा वर्षमा एक पटक भ्रमणमा लैजाने व्यवस्था समेत गरिएको नेपालले जानकारी दिनुभयो
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको संगठनका प्रतिनिधिहरुले स्वयंसेवक हुन भनेर श्रम शोषण गर्ने काम भएको भन्दै गुनासो गर्नुभयो ।
स्वास्थ्य स्वयं सेवी संघकी अध्यक्ष गीता थिङले स्वयंसेविकालाई श्रमिका रुपमा लैजानु पर्ने माग गर्नुभयो ।आफूहरुले स्वास्थ्य क्षेत्रमा मात्रै नभएर समाज र देशलाई योगदान दिएको थिङको भनाइ छ ।
सरकारको माथिल्लो निकायले राम्रो गरेको भनेर सबैले धन्यवाद, स्वाबासी दिने तर मूल्यांकन नहुने गरेको उहाँको गुनासो छ । कुनै स्थानीय तहले समस्या बुझेर स्वयंसेविकाहरुको सेवा, सुविधा थप गरिदिए पनि धेरैले माथिको नीति नै छैन भनेर पन्छिने गरेको थिङले बताउनुभयो ।
विभिन्न समस्या झेल्दै दुर्गममा काम गर्ने स्वयंसेविका बढी मारमा रहेको थिङको भनाइ छ । रणनीति बदलेर स्वयंसेविकाको भूमिकाका आधारमा सम्मानजनक सेवा, सुविधा दिनु पर्ने उहाँको माग छ ।
उमेर पुगेर विदाइ गर्दा अहिले दिने गरेको २० हजार रुपैयाँ एकदमै कम भएकाले कम्तिमा १ लाख दिनुपर्ने माग उहाँले राख्नुभयो । योगदानमा आधारित समाजिक सुरक्षाको व्यवस्था पनि हुनुपर्ने माग थिङले राख्नुभयो ।
नेपाल स्वास्थ्य स्वयं सेवक संघकी अध्यक्ष वसन्ती महर्जनले स्वास्थ्य सेवामा खटिने अन्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकाबीच ठूलो विदेभ रहेको सुनाउनु भयो । एउटै कार्यक्रममा रहँदा अन्य कर्मचारीलाई खाजा हुने तर स्वास्थ्य स्वयंसेविकालाई खाजा छैन भन्ने गरेका धेरै उदाहरण रहेको गुनासो उहाँले गर्नुभयो ।
स्वास्थ्य स्वयंसेविकालाई राष्ट्रिय कार्यक्रमका बेला दिइने ४०० रुपैयाँ भता निकै कम भएको महर्जनले बताउनुभयो । स्थानीय तहका कतिपय उच्चपदस्थहरुले भत्ता थपिदिए मात्तिछन् भन्ने गरेको पनि उहाँले सुनाउनुभयो।
अब स्वयं सेवक भनेर नहुने र उनीहरुलाई पनि उचित सेवा, सुविधाको व्यवस्था हुनपर्ने माग उहाँले राख्नुभयो ।
युनिसेफकी नेपाल प्रतिनिधिले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य सेवाका मेरुदण्ड रहेको बताउनुभयो । स्वास्थ्य स्वयंसेविकाको योगदानले गर्दा १०औँ हजार व्यक्तिको ज्यान जोगिएको उहाँको भनाइ छ । स्वास्थ्य स्वयंसेविकाहरु त्यहीँकै समुदायबाट आएकाले त्यो उपलब्धि हासिल गर्न सकेको पनि उहाँले बताउनुभयो ।
युनिसेफले नेपाल सरकारमार्फत स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई सहयोग गरिरहेको उहाँले बताउनुभयो । भविष्यमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।