सर्लाही, २० पुष २०८१
शुक्रबार सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतको नगर अस्पतालमा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको औपचारिक उद्घाटन गरिएको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले स्थानीय अस्पतालमा पनि यस्ता केन्द्र सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए। डा. श्रेष्ठले यस्तो केन्द्रले औषधि प्रतिरोधी क्षयरोगका बिरामीले सहज रुपम सेवा पाउनुका साथै क्षयरोग मुक्त नेपाल बनाउने अभियानलाई पनि सहयोग हुने जानकारी दिनुभयो।
डा. श्रेष्ठका अनुसार मधेश प्रदेशमा अन्य प्रदेशका तुलनामा धेरै क्षयरोगका बिरामी रहेका कारण उपचार केन्द्रसँगै सचेतनाका कार्यक्रमहरु पनि बढाउँदै लैजानु पर्ने अवस्था रहेको छ। शुक्रबार उदघाटन गरिएको केन्द्रसहित मधेश प्रदेशमा पाँच वटा औषधि प्रतिरोधी केन्द्र सञ्चालनमा रहेका छन्।
देशका अन्य जिल्लामा पनि यस्ता केन्द्रहरु विस्तार भइरहेको डा. श्रेष्ठले जानकारी दिए। उनका अनुसार एक साताअघि सिन्धुलीमा र अबको केही दिनमा त्रिशुलीमा पनि यस्तै केन्द्र सञ्चालनमा आउने भएको छ।
‘क्षयरोग मुक्त नेपाल सन् २०३५ मा बनाउने लक्ष्यसहित हामीले कार्यक्रमहरु अगाडि बढाइरहेका छौं,’ डा. श्रेष्ठले भने, ‘औषधि प्रतिरोधी क्षयरोगका बिरामीले स्वास्थ्यकर्मीको निगरानीमा औषधिहरु सेवन गर्नुपर्ने भएकाले यस्ता केन्द्रहरु आवश्यकता अनुसार बढाउँदै लगिएको छ।’
लालबन्दी नगर अस्पतालमा यसअघि सामान्य किसिमका क्षयरोगीको मात्रै उपचार हुने गरेकामा अब औषधि प्रतिरोधी बिरामीले पनि सहज रुपमा सेवा पाउने अवस्था आएको अस्पतालका प्रमुख डा. चन्दन चौधरीले जानकारी दिए। डा. चौधरीका अनुसार यसअघि औषधि प्रतिरोधी बिरामीलाई जनकपुर लगायत अन्य क्षेत्रम पठाउनु पर्ने बाध्यता थियो।
औषधि प्रतिरोधी क्षयरोगीको उपचार लगायतका सेवा दिन नगर अस्पतालले एक जना मेडिकल अफिसर र दुई जना सिनियर अहेबलाई आवश्यक तालिम दिइसकेको छ।
केन्द्रको उद्घाटन कार्यक्रममा मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. श्रवणकुमार नायक, लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिन, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका जनस्वास्थ्य अधिकृत शिवशंकर महतो, नर्सिङ अधिकृत थुमा पुन, ल्याब टेक्निसियन इश्वरी प्रसाद भुषाल, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका डा. राजवीर यादव, स्वास्थ्य कार्यालय मलंगवाका बलिराम यादव, नगर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उपस्थिति थियो।