काठमाडौं, १० असोज २०८१
नेपालमा पहिलोपटक क्षयरोग पहिचानका लागि पहिलोपटक पोट्रेबल आर्टिफिर्सिल इन्टेलिजेन्सयुक्त चेष्ट मेसिन भित्रिएको छ।
नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भित्र्याउन सकेको थिएन । नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले बताए। मेसिन खरिदका लागि नेपाल सरकारलाई ग्लोबल फन्डले आर्थिक सहायता गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाको उपस्थितीमा प्रत्येक प्रदेशलाई एक-एक वटाका दरले उक्त मेसिन वितरण गरिएको हो। क्षयरोगमुक्त अभियानमा उक्त मेसिनको प्रयोग गर्ने प्रतिबद्वता प्रत्येक प्रदेशले गरेको डा. श्रेष्ठले बताए।
दुई सातासम्मको निरन्तर खोकी तथा क्षयरोगको शंका लागेमा खकार परीक्षण गरौं भन्ने नारा वर्षाैंदेखि प्रयोग हुँदैं आए पनि उक्त मेसिनले नयाँ आयाम थपिदिएको डा. श्रेष्ठको भनाइ छ।
क्षयरोगको कुनै पनि लक्षण भएको अवस्थामा एक्सरे गरेर मात्रै खकारको परीक्षण गराउँदा हुने अवस्था आएको उनले बताए।
‘यो ब्याट्रीको सहायताले चल्ने एक्सरे मेसिन हो, एकपटक चार्ज गरेपछि यसले २ सय बिरामीको परीक्षण गर्न सक्छ’, ‘मेसिनले दैनिक करिब ४ सय सम्म बिरामीको परीक्षण गर्न सक्छ’, डा. श्रेष्ठले भने।
आर्टिफिसियल इन्टेलिजेन्सयुक्त उक्त मेसिनले नै बिरामीलाई खकार परीक्षण आवश्यक भए, नभएको जानकारी दिने गर्छ। यसको प्रयोग रेडियोलोजिष्ट तथा तालिम प्राप्त स्वास्थ्यकर्मीले गर्न सक्ने डा. श्रेष्ठले जानकारी दिए।
उक्त मेसिनको प्रयोगबारेको तालिमका लागि प्रत्येक प्रदेशबाट ४ जना सहभागी गराइएको उनले जानकारी दिए। प्रदेश तथा केन्द्रस्तरका गरी करिब ३२ जनालाई उक्त तालिम दिइएको थियो।
कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक डा. रबिन खड्काले समेत उक्त मेसिन थन्किएर बस्ने अवस्था आउन नदिनका लागि प्रतिबद्वता व्यक्त गरेका छन्। प्रदेशस्तरबाट क्षयरोगमुक्त अभियानमा आएको सकारात्मक टिप्पणाीले सकारात्मक उर्जा प्राप्त भएको डा. श्रेष्ठले बताए।
नेपालमा पहिलोपटक भित्रिएको उक्त मेसिन प्रत्येक प्रदेशलाई १/१ वटाका दरले वितरण गरेपश्चात् केन्द्रमा दुईवटा राखिने डा. श्रेष्ठले बताए।