ललितपुर, १८ पुस २०८२
चापागाउँमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको तिलगंगा सर्जिकल आँखा केन्द्र सेवाको दोस्रो वर्षमा प्रवेश गरेको छ ।
चापागाउँको वडा नं. ११ मा सन् २०२४ को जनवरी १ मा स्थापना भएको हो । केन्द्रले सबैका लागि पहुँचयोग्य, किफायती र गुणस्तरीय आँखा उपचार सेवा सुनिश्चित गर्दै रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण गर्ने र प्रारम्भिक पहिचान, उपचार र जनचेतनाका माध्यमबाट जीवनस्तर सुधार गर्ने लक्ष्य रहेको जनाएको छ ।
केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम व्यवस्थापक डा. मोहनकृष्ण श्रेष्ठ, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, नगर उपप्रमुख मुना अधिकारी, गोदावरी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष नीलबहादुर देसार, ललितपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष सागर तुलाधर, विभिन्न वडाका वडाध्यक्षहरू, बज्रवाराही अस्पतालका प्रमुख तथा विभिन्न निकायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
तिलगंगा आँखा प्रतिष्ठान र गोदावरी नगरपालिका बीच गोदावरी क्षेत्रमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न ३० वर्षे सम्झौता बमोजिम हाल केन्द्रले दृष्टि परीक्षण, व्यापक आँखा जाँच, साना र प्रमुख शल्यक्रियाहरू, फन्डस फोटो, औषधि तथा चश्मा वितरण, आउटरीच र स्कूल आँखा स्वास्थ्य कार्यक्रमहरू, मधुमेहजन्य रेटिनोपथी जाँच लगायतका सेवा प्रदान गरिरहेको छ ।
केन्द्रकी इन्चार्ज श्रद्धा महर्जनका अनुसार स्थापनाकालदेखि अहिलेसम्म केन्द्रले १२ हजारभन्दा बढीको आँखा जाँच ५ सयभन्दा बढीको शल्यक्रिया तथा ३२ वटा विद्यालय र समुदायमा आँखा शिविर संचालन गरेको छ । केन्द्रको यस वर्षको मुख्य उपलब्धिहरूमा फन्डस फोटो विस्तार, मोतीबिन्दु र प्रमुख शल्यक्रियामा वृद्धि, औषधि र चश्मामा पहुँच सुधार, वित्तीय स्थिरता र समुदायमा विश्वास तथा सेवा उपयोगमा वृद्धि रहेका छन् ।
तिलगंगा सर्जिकल आँखा केन्द्रले भविष्यमा पनि गुणस्तरीय आँखा उपचार सेवालाई समुदायसम्म पुर्याउँदै रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणमा योगदान गर्ने जनाएको छ।












