जुम्ला, ७ बैशाख २०८१
तिला गाउँपालिका पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्ने जुम्लाकै पहिलो पालिका बनेको छ ।
स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति जुम्लाका सदस्य नरविर सुनार र तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर रावतले बताए ।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताए।
प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको अध्यक्ष रोकायाले जानकारी दिए ।