काठमाडौं, ७ असोज २०८१
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पछिल्लो दुई सातादेखि डेंगुका बिरामीले भरिभराउ भएको छ।
अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले साउन र भदौंमा मात्रै अस्पतालमा १५५ डेंगु संक्रमितको उपचार गरेको बताए। जसमा साउनको तुलनामा भदौंमा डेंगु संक्रमित संख्या बढेको हो।
हाल अस्पतालमा दैनिक १० देखि १५ डेंगु संक्रमित भर्ना हुने गरेको निर्देशक डा. बसौलाले जानकारी दिनुभयो।
पछिल्लो समय रातीको समयमा पनि २० देखि २५ जनासम्म बिरामी उपचारका लागि अस्पताल आउने गरेकोमा बिरामीको अवस्था अनुसार अस्पताल भर्ना लिने गरेको डा. बसौलाले बताए। प्रायः जसो काठमाडौंको कालीमाटी, कुलेश्वरलगायतका क्षेत्रबाट डेंगुका बिरामी धेरै आएका छन्।
डा. बसौलाका अनुसार आइतबार साँझसम्म १२ जना डेंगुका तथा स्क्रप्टाइबसका ३ जना बिरामी आइसियूमा उपचाररत छन। अस्पतालमा उपचारका लागि थोरै मात्रै गम्भीर अवस्थाका डेंगु संक्रमित आउने गरेका छन्।