काठमाडौं, २४ पुस २०८२
त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सबै उपचार सेवा स्थगित गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा बोर्डले नियमित रूपमा ठूलो परिमाणमा दाबी रकम अस्वीकृत गर्न थालेपछि सेवा सञ्चालन असम्भव भएको हो। अस्पतालका अनुसार मासिक करिब ५ करोड रुपैयाँ बराबरको उपचार खर्च हुनेमा बीमा बोर्डबाट झण्डै ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै आएको छ। बाँकी रकम अस्वीकृत हुँदा अस्पतालले मासिक करिब २ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ।
स्वास्थ्य बीमाबाट उपचार लिन आउने बिरामीको संख्या र चाप दैनिक रूपमा करिब ५० प्रतिशतसम्म बढ्दै गएको भए पनि बीमा बोर्ड र अस्पतालबीच दररेटमा असहमति छ। अस्पतालले पटक–पटक आफ्नै निर्धारण गरिएको दरलाई अन्तिम मानिदिन आग्रह गरे पनि सुनुवाइ नभएको र भुक्तानी प्रक्रिया अवरुद्ध भएको सूचनामा उल्लेख छ।





