काठमाडौं, ९ मंसिर २०८१
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३२ जना बढी नर्सलाई रोजगारीको अवसर आएको छ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले ३२ जना स्टाफ नर्सलाई अस्थायी पदमामा करार सेवामा राख्न थालेको छ।
अहिलेलाई ३२ जना र पछि रिक्त रहेको दरबन्दीमा आवश्यकता अनुसार योग्यताक्रम अनुसार नर्सको पदपूर्ति गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले सूचना निकालेको हो।
आईतबार प्रकाशित सूचनामा चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतका शिक्षण अस्पताल/सेन्टर/ केन्द्रहरुमा स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्ने जनाइएको छ। त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको न्यूनतम शैक्षिक योग्यता मागिएको हो। १ हजार पाँच सय रुपैयाँ दस्तुत तिरेर मंसिर २५ सम्म र ३ हजार रुपैयाँ दस्तुर बुझाएर मंसिर २९ सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ।
आउँदो पुस १३ गते लिखित परीक्षा लिएर नर्स भर्ना गरिने डीनको कार्यालयले जनाएको छ। नागरिकताको प्रमाणपत्र, शैक्षिक उपाधिको प्रमाणपत्र, नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई नवीकरण भएको प्रमाणपत्र अनिवार्य अपलोड गर्नु पर्ने सूचनामा उल्लेख छ। सूचना अनुसार १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला र १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको पुरुषले आवेदन दिन सक्ने छन्।