डोटी, ०७ मंसिर २०८२
सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा प्रदान गर्ने विभिन्न निकायहरुको एकीकृत वार्षिक समिक्षा राजपुर डोटीमा सम्पन्न भएको छ ।
मङ्सिर ५ गते देखि शुरु भएको एकीकृत वार्षिक समिक्षा कार्यक्रम स्वास्थ्य निर्देशानालाय राजपुर डोटीमा सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि डडेल्धुरामा र कैलालीको गेटामा संघीय अस्पताल छन् भने सेती, महाकाली, बयलपाटा र टिकापुर गरी ४ वटा प्रादेशिक अस्पतालले उपचारात्मक लगायतको स्वास्थ्य सेवा प्रदान गरि रहेका छन् ।
त्यसैगरि बैतडी, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरामा प्रदेशको जिल्ला अस्पताल मातहत स्वास्थ्य सेवा दिने काम भइरहेको छ । ९ वटै जिल्लामा प्रतिकारात्मक प्रवर्धनात्मक लगायतको स्वास्थ्य सेवा दिन र तिन तहको सरकार बीच समन्वयको काम गर्नको लागि स्वास्थ्य कार्यालयहरु संचालनमा रहेका छन् ।
आयुर्बेद स्वास्थ्य सेवा प्रदान गर्नको लागि कैलालीमा प्रादेशिक आयुर्बेद चिकित्सालय, कंचनपुरमा आयुर्बेद औषधालय र अन्य ७ पहाडी जिल्लामा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र संचालनमा रहेको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बहादुर बमले बताउनु भयो।
एकीकृत वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रममा स्वास्थ्य सूचकांकको आधारमा आर्थिक वर्ष २०८१।०८२ मा सम्पादित कार्यक्रमहरुको आधारमा अस्पतालहरु मध्ये जिल्ला अस्पताल अछामले प्रथम , महाकाली प्रादेशिक अस्पतालले द्वितीय र जिल्ला अस्पताल डोटीले तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी स्वास्थ्य कार्यालय तर्फ डडेल्धुरा प्रथम , द्वितीय डोटी र तृतीय स्थान कैलालीले हासिल गरेका छन् ।
आयुर्बेद स्वास्थ्य केन्द्र तर्फ प्रथम स्थान बाजुरा, द्वितीय स्थान दार्चुला र तृतीय स्थान बझांग आयुर्बेद स्वास्थ्य केन्द्रले हासिल गरेको छ।
कुल स्थानीयतहहरु मध्ये कन्चनपुरको लालाझाडी गाउँपालिका प्रथम, दार्चुलाको नौगाड गाउँपालिका द्वितीय र बाजुराको गौमुल गाउँपालिकाले तृतीय स्थान हासिल गरेको स्वास्थ्य निर्देशनालय डोटीका तथ्यांक अधिकृत महेश बोहराले बताए ।
संघियता पश्चात पहिलो पटक प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा दिपायल डोटीमा सम्पन्न गरिएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीले यसपालिको समिक्षा कार्यक्रम आफ्नै सभाहलमा सम्पन्न सुशासन कायम हुने गरि न्युनतम खर्चमा कार्यक्रम संचालन गरिएको छ।
जेन्जी आन्दोलनको भावना अनुसार र सरकारको निर्देशन अनुसार समेत कम भन्दा कम खर्चमा सम्पन्न हुने गरि अतिथि हरुलाई स्वागत गर्नको लागि प्रयोग हुने व्याज समेत पिपलको पातमा बनाएर स्वागत गरिएको तथ्यांक अधिकृत धर्मानन्द गिरीले बताए ।
समिक्षा कार्यक्रममा प्रदेशको स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट भूमिका निर्वाह गर्ने विभिन्न संस्था र कर्मचारी सहित ४१ जनालाई सम्मान पत्र, कदर पत्र र ३ जना स्वास्थ्यकर्मीको सडक दुर्घटनामा ज्यान गएको हुनाले मरणोपरान्त सम्मान पत्र समेत प्रदान गरिएको छ ।
संघीय सरकारका प्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय तह र सरोकार वाला अन्तर्राष्ट्रिय/ राष्ट्रिय गैर सरकारी संस्थाको समेत सहभागितामा प्रदेशवासीको स्वास्थ्य स्तर उकास्नको लागि बिभिन्न १३ बुदे राजपुर डोटी घोषणापत्र समेत जारी गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेश सामाजिक बिकास राज्य मन्त्रीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
उद्घाटन कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह, दिपायल सिलगढी नगर पालिका प्रमुख बाजी सिंह खड्का, सामाजिक बिकास मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव हेमराज सुबेदी र डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल लगायतको उपस्थिति रहेको थियो ।
समिक्षा कार्यक्रमको समापन स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. खगेन्द्र बमको अध्यक्षतामा सम्पन्न भएको थियो
समापन कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महानिर्देशक नरेन्द्र सिंह कार्की, शिक्षा बिकास निर्देशनालय डोटीका महानिर्देशक श्री दुर्गा दत्त बिष्ट समेतको उपस्थिति रहेको थियो ।











