चितवन, २२ वैशाख २०८२
भरतपुरस्थित चितवन मेडिकल कलेजमा दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
शनिबार सम्पन्न सम्मेलनले मानसिक स्वास्थ्य समस्याका बारे समाजमा व्याप्त कलंक र बिरामीहरूमाथि हुने भेदभावको अन्त्य, सबै क्षेत्रमा मानसिक स्वास्थ्य पेशाकर्मीहरूको कमी औल्याएको छ । जारी घोषणापत्रमा स्वास्थ्यकर्मीहरूमा मानसिक थकान र समस्याको बढ्दो जोखिम, साथै जनशक्ति पलायनको समस्या रहेको उल्लेख गरेको छ । सरकार, सार्वजनिक संस्था तथा गैर–सरकारी संस्थाहरूको प्रयासलाई घोषणापत्रमा सह्राना गरिएको छ ।
सम्मानित सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवाको उपलब्धता र सम्वद्र्धनका निम्ति सरकारलाई दिएको ऐतिहासिक निर्देशनात्मक आदेशको उच्च सह्राहना एवं स्वागत गर्दै नेपालमा मानसिक स्वास्थ्य सेवाको प्रबर्द्धनमा काम गर्न सरकारलाई घोच्घच्याईएको छ ।
सबै गैर–सरकारी क्षेत्रहरूबीच समन्वय, सहकार्य र सहयोगमा वृद्धि गरी मानसिक स्वास्थ्य सेवा सम्बन्धी संवैधानिक अधिकार सुनिश्चित गर्न माग गर्दै सम्मेलनले समुदायमा मानसिक स्वास्थ्यका बारेमा सचेतना अभिवृद्धि तथा अधिकार आधारित मानसिक स्वास्थ्य प्रवद्र्धन, रोकथाम, उपचार र पुनःस्थापनामा सशक्तीकरण गर्नुपर्नेमा बिशेष जोड दिएको छ ।
मानसिक स्वास्थ्य अवधारणा, विशेषतः बालबालिका, किशोर–किशोरी, युवा, महिला र ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्यमा बिशेष ध्यान दिन सम्मेलनले जोड दिएको छ । संवेदनशील तथा सीमान्तकृत समूहहरू (लैंगिक हिंसा पीडित, कैदीहरू, प्रवासी श्रमिक, आत्महत्या प्रयास गर्नेहरू, लागूपदार्थ प्रयोगकर्ता) लाई लक्षित कार्यक्रमद्वारा सहयोग सुदृढ गर्नुपर्नेमा जोड दिईएको छ ।
सबै तहका सरकारले कुल स्वास्थ्य बजेटको न्यूनतम १० प्रतिशत मानसिक स्वास्थ्यमा विनियोजन गर्न र गुणस्तरीय मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गरी सर्वसुलभ बनाउन पनि सम्मेलनले माग गरेको छ । मानसिक स्वास्थ्य जनशक्ति (साइक्याट्रिस्ट, मानसिक स्वास्थ्य नर्स, क्लिनिकल साइकोलोजिस्ट, सामाजिक कार्यकर्ता, व्यावसायिक थेरापिस्ट, आदि) को क्षमता अभिवृद्धिमा लगानी गर्न, पाठ्यक्रम र प्रमाणिकरण मापदण्ड एकरूप बनाउन पनि माग गरिएको छ ।
अन्तर्राष्ट्रिय दाता संस्थाहरूले न्याय र समानताको सिद्धान्तमा आधारित भएर न्यून तथा मध्यम आय भएका देशहरूमा मानसिक स्वास्थ्य सुधारका लागि थप स्रोत उपलब्ध गराउन, उच्च आय भएका देशहरू र न्यून आय भएका देशहरूबीच ज्ञान आदानप्रदान र स्रोत साझेदारी मार्फत दिगो मानसिक स्वास्थ्य क्षमता विकासका लागि समान र न्यायोचित सहकार्य प्रवद्र्धन गर्न पनि यस सम्मेलनले माग गरेको छ ।
स्थानीय सरकारलाई समुदायमा आधारभूत मानसिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक स्रोत पहिचान र परिचालनमा समर्थन र सहकार्य गर्ने सम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका NIOMH, CMC–Nepal, HFN, र NHC लगायतका संस्थाहरूले सामुदायिक सेवाहरू सुदृढ गर्न र “सबैका लागि मानसिक स्वास्थ्य” को लक्ष्यमा योगदान दिन सहकार्य गर्ने प्रतिबद्धता पनि सम्मेलनले गरेको छ ।
अगामी वर्ष “सबैका लागि मानसिक स्वास्थ्य”को एजेन्डालाई अघि बढाउन तेस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना गर्ने प्रतिबद्धता पनि सम्मेलनले व्यक्त गरेको छ ।
म्यासाचुसेट्स जनरल अस्पताल, साइक्याट्री एकेडेमी, हार्वर्ड मेडिकल स्कूल र ओस्लो विश्वविद्यालयद्वारा अन्तर्राष्ट्रिय आयोजकका रूपमा रहेको सम्मेलनमा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ, सामुदायिक मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल, टीपीओ नेपाल, हेल्थ फाउन्डेसन नेपाल, महिला पुनःस्थापना केन्द्र, नेपाल हेल्थ कप्र्स, ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर नेपाल, नेपाल सामाजिक मनोचिकित्सा संघ, पसीबल हेल्थ, नेपालिज अमेरिकन साइक्याट्री एशोसिएसन, नेपाल क्लिनिकल साइकोलोजिस्ट संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसन लगायतका राष्ट्रिय संस्थाहरूको सहकार्य रहेको थियो ।
आयोजित सम्मेलनमा नेपाल, भारत, नर्वे अमेरिका लगायतका देशबाट तीन सयभन्दा बढी सहभागी थिए । साइन्टिफिक सेसनमा एक सयभन्दा बढी शोतपत्रहरू प्रस्तुत गरिएका थिए।