काठमाडौं, २२ भाद्र २०८२
सरकारले बिहिवार देखि नेपालमा दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकारहरूले त्यसविरुद्ध सडकमा प्रदर्शन गरेका छन्।
आईतबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै आपत्ति जनाएका छ्न।
पत्रकार महासंघका पूर्वपदाधिकारी तथा सदस्यहरूको आह्वानमा गरिएको उक्त विरोधमा सहभागीहरूले ‘नो ब्यान्ड’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता फर्किँदै छ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दै आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।