काठमाडौं, १९ असोज २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर अहेव बिन्दु कोईरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा चापाकोट नगर कार्यपालिकाको कार्यालय चापाकोट, स्याङ्जाका सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाख उनन्चालीस हजार छ सय बीस रुपैयाँ उनन्चालीस पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
सिनियर अहेव कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
‘कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कार्तिक ५ गतेदेखि २०७८ मङ्सिर २१ गतेसम्मको जाँच अवधिमा आय (आम्दानी) तर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट प्राप्त रकम, बैंक व्याजबाट प्राप्त रकम, सवारी बहालबाट प्राप्त रकम, सवारी साधन बिक्रीबाट प्राप्त रकम गरी जम्मा दुई करोड सन्तानब्बे लाख एकासी हजार आठ सय दुई रुपैयाँ एक पैसा आय आर्जन गरेको छ।
त्यसैगरी सोही जाँच अवधिमा निजको व्यय (खर्च तथा लगानी) तर्फ हेर्दा घर निर्माण, उद्योग व्यवसायमा लगानी, कर्जा भुक्तानी, जग्गा खरिद, शेयर खरिद, शैक्षिक खर्च, सवारी साधन खरिद, बैंक मौज्दात, विवाह खर्च, सवारी राजस्व, पुँजीगत लाभकर र अन्य सामान खरिद गरी जम्मा तीन करोड अठासी लाख एक्काइस हजार चार सय बाइस रुपैयाँ चार पैसा) खर्च तथा लगानी गरेको देखिन आएबाट आयभन्दा बढी भएको ९० लाख, ३९ हजार, ६ सय २० रुपैयाँ ३९ पैसा रकम ऋणात्मक देखिएको अख्तियारले जनाएको छ