दाङ, २४ असोज २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्रिवि शिक्षण अस्पतालले जलन उपचारका लागि किर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने भएको छ।
आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सुरु गर्ने गरी तयारी थालिएको प्रतिष्ठानका रजिस्ट्रार प्राचार्य श्याम लम्सालले बताउनुभयो ।
यस अघि प्रतिष्ठानले मुटु उपचारका लागि सहिद गङ्गालाल मुटु रोग अस्पतालसँग सहकार्य गर्दै नर्सिङ र रेडियोलोजी विभागका जनशक्तिलाई तालिमका लागि पठाइसकेको छ।
प्रतिष्ठानका तर्फबाट रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीले काठमाडौंमा त्रिवि शिक्षण अस्पतालका डीन प्रा. डा. मोहनराज शर्मा र जलन अस्पतालका वरिष्ठ सल्लाहकार प्रा. डा. शंकरमान राईसँग सहकार्यका लागि सहमति गरेका हुन्।
सहमतिअनुसार अब प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, पारामेडिक्स र विद्यार्थीलाई तालिमका लागि पठाउने बाटो खुलेको छ। साथै, दुबै संस्थाबीच जनशक्ति आदानप्रदान गर्न सकिने व्यवस्था पनि गरिएको छ।
रजिस्ट्रार लम्सालका अनुसार सहकार्यका क्षेत्रमा प्राविधिक सहयोग, स्वास्थ्य अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिइनेछ। लम्सालले भने, “आगामी आर्थिक वर्षदेखि राप्ती प्रतिष्ठानमा जलन उपचार सेवा सुरु गर्ने तयारी भइरहेको छ। त्यही उद्देश्यले चिकित्सक र नर्सलाई तालिमका लागि किर्तिपुर पठाइनेछ।”
निमित्त अस्पताल निर्देशक प्रा.डा. पन्थीले दुई संस्थाबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादनमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
 
			 
 
    	 
			
 

 










 



 
                