काठमाडौं, २४ मंसिर २०८२
नेपाल रेडियोलोजिस्ट्स एसोसिएसन (NRA) ले आफ्नो ३१औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाएको छ।
स्थापना दिवसको अवसरमा एसोसिएसनले देशभर कार्यरत रेडियोलोजिस्ट चिकित्सकहरू, ज्येष्ठ सदस्यहरू र शुभेच्छुकहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।
एसोसिएसनका अध्यक्ष डा. तेजेन्द्र कार्की द्वारा जारी शुभकामना सन्देशमा रेडियोलोजी सेवाको प्रवर्द्धन, सेवाको गुणस्तर अभिवृद्धि, पेशागत मर्यादाको संरक्षण तथा जनस्वास्थ्य समुन्नतिप्रति NRA निरन्तर क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ।
स्थापना दिवसको अवसरमा वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरिएको थियो। यसले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति एसोसिएसनको प्रतिबद्धता झल्काएको अध्यक्ष कार्कीले बताएका छन्।
नेपाल रेडियोलोजिष्ट एसोसिएसनको केन्द्रीय कार्यसमितिले गरेको कार्यक्रममा इटहरी सैनिक अस्पताल इटहरीका प्रमुख डा. कुमार रोका, रेडियोलोजिष्ट डा. सरोज राज केसी लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो। 

वृक्षरोपण कार्यक्रम इटहरीको सैनिक अस्पताल, पोखरा भरतपुर, बिरगन्ज र काठमाडौंको नेपाल प्रहरी अस्पताल लगायत देशभरका बिभिन्न स्थानमा सम्पन्न भएको थियो। बिभिन्न वनजातीका वृक्षरोपण गरिएको थियो।

सन्देशमा आधुनिक प्रविधिमैत्री रेडियोलोजी सेवा देशभर विस्तार गर्ने, रेडियोलोजिस्टहरूको पेशागत अधिकार र हितको संरक्षण गर्ने तथा सेवाको समान पहुँच सुनिश्चित गर्न NRA निरन्तर सक्रिय रहने दृढ संकल्प व्यक्त गरिएको छ।
नेपाल रेडियोलोजिस्ट्स एसोसिएसनले सदस्यहरूको एकता, सहभागिता र सहयोगलाई आफ्नो प्रमुख शक्ति मान्दै आगामी दिनहरूमा अझ प्रभावकारी, उत्तरदायी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
अन्तमा, एसोसिएसनले आफ्नो ३१औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण रेडियोलोजी समुदायलाई हार्दिक शुभकामना व्यक्त गरेको छ।









