नेपालमा शल्यक्रिया बिना नै गरिने अत्याधुनिक उपचार पद्धति ‘इन्टरभेन्सनल रेडियोलोजी’ (IR) लाई नयाँ उचाइमा पुर्याउन ‘नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी’ (NSVIR) ले एक शक्तिशाली र समावेशी कार्यसमिति चयन गरेको छ।
देशभरका प्रमुख अस्पतालका दक्ष विशेषज्ञहरू समेटिएको यो टोलीले नेपालको स्वास्थ्य सेवामा नयाँ क्रान्ति ल्याउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमिति र नेतृत्व सोसाइटीको नयाँ अध्यक्षमा शिक्षण अस्पताल (TUTH), महाराजगञ्जका वरिष्ठ विशेषज्ञ डा. अजित थापा निर्वाचित हुनुभएको छ।
त्यस्तै, भावी नेतृत्वको रूपमा डा. अमृत कोइरालालाई ‘प्रिसिडेन्ट इलेक्ट’ (President Elect) चयन गरिएको छ।
संस्थाको उपाध्यक्षमा पोखराका स्थापित विशेषज्ञ डा. मनिष किरण श्रेष्ठ र महासचिवमा वीरेन्द्र सैनिक अस्पतालका गतिशील नेतृत्वकर्ता डा. मनिष थापा चयन हुनुभएको छ।
यस्तै कार्यसमितिको सह-सचिवमा चितवनका डा. प्रदेश घिमिरे र कोषाध्यक्षमा नेपाल प्रहरी अस्पतालका डा. सन्तोष जोशी रहनुभएको छ। सदस्यहरूमा डा. काजन र डा. सृष्टिले जिम्मेवारी सम्हाल्नुभएको छ।
यस सोसाइटीले नेपालका प्रमुख सरकारी तथा सुरक्षा निकायका अस्पतालहरूमा कार्यरत विशेषज्ञहरूको टिम निर्वाचित हुँदा यसले देशभर आईआर सेवाको पहुँच र विस्तारमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ ।
सोसाइटी विगत एक दशकदेखि नेपालमा सक्रिय छ । पछिल्ला दिनहरुमा ठूलो शल्यक्रियाबिना नै सानो सुईको माध्यमबाट जटिल रोगको उपचार गरिने आईआर पद्धति नेपालमा लोकप्रिय हुँदैं गएको छ ।







