काठमाडौँ, ११ जेठ २०८१
काठमाडौँ जिल्ला सहित देशभरिका बालबालिकालाई नै पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान यहि जेठ १३ गतेदेखि संचालन गरिने भएको छ ।
जनस्वास्थ्य कार्यालय काठमाडौँले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार ११७ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाउन थालिएको कार्यालयका जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिएका हुन् ।
देशभरि १४ लाख ६२ हजार ७१२ जना बालबालिकालाई उक्त खोप लगाइने छ । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोग विरुद्धको खोप ‘आइपिभि’ अभियान लगाउन थालेको हो ।
उनले ७८३ खोप केन्द्र स्थापना गरि ‘आइपिभि’ खोप बालबालिकालाई प्रदान गरिने छ । काठमाडौँमा जिल्लामा एक हजार ४२१ विद्यालयमा खोप अभियान संचालन गरिने छ । खोप अभियानका लागि २७८ स्वास्थ्यकर्मी र ५५६ स्वयसेविका परिचालन गरिने छ । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिएपनि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकोले खोप अभियान संचालन गर्नु परेको जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिए ।
नेपालका मानिसहरु ति दुई देशमा आवत जावत गर्ने भएकोले यहाँ पनि सङ्क्रमण जोखिम रहेको छ । ती दुबै देशहरूमा पोलियो संक्रमण नरोकिए सम्म अन्य देशहरू पनि जोखिम हुने सुबेदीले बताए।
खोप विस २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन थालिएको हो । उक्त समयमा ‘आइपिभि’को विश्वबजारमा अभाव रहेकोले ति समयमा जन्मेका बालबालिकालाई खोप लगाउन पाइएको थिएन । त्यसैले सो समयमा जन्मेका बालबालिकालाई पोलियो रोगबाट बचाउनका लागि ‘आइपिभि’ खोप प्रदान गर्न थालिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन प्रसाद सापकोटाले जानकारी दिए ।
डा. सापकोटाले खोप अभियान संचालनका लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने बिषयमा अभिमुखीकरण तालिम समेत सम्पन्न गरिएको बताए ।
यस्तैगरी यहि जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसंग पनि समन्वय गरिएको उहाँको भनाइ रहेको छ ।
खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन ( गाभी)ले ३२ करोड रुपिया बराबरको खोप उपलब्ध गराइसकेको छ । दुई हप्तासम्म चल्ने अभियानमा पोलियो विरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ।