काठमाडौं, १७ मंसिर २०८१
परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले कुपण्डोलको नयाँ भवनबाटपनि आज देखि स्त्रीरोग उपचार सेवा सुरु गरेको छ ।
यश अघि नयाँ भवनमा सुरक्षित गर्भपतन सेवालगायत सेवा सञ्चालन भइरहेकोमा अस्पतालले अब स्त्रीरोगको बहिरङ्ग सेवा पनि सुरुवात गरेको हो ।
नयाँ भवनको भूइँ तल्लामा सोधपुछ कक्ष, टिकट काउन्टर, औषधि बिक्री कक्ष, ओपिडी, भिडियो-एक्सरे, प्रयोगशालाको सुविधा छ भने पहिलो तल्लामा सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा सुविधा रहेको छ । साढे पाँच तल्लाको भवनको माथिल्लो तल्लामा छात्रावास रहेको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सोमबारबाट नयाँ भवनबाट आंशिक रुपमा स्त्रीरोगको बहिरङ्ग सेवा सुुरु गरेको जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार निःसन्तान तथा सुरक्षित गर्भपतन सेवा हामीले यसअघि नै सुरु गरिसकेका छौँ र हाललाई स्त्रीरोगको ओपिडी सेवा सुरु गरेका हौँ ।
अस्पतालले यो नयाँ सेवाबाहेक निःसन्तान उपचारलगायत गर्भपतन सेवा गत असार १६ गतेदेखि सञ्चालन गरेको थियो । थप स्रोत साधनको व्यवस्था भए अस्पतालले भविष्यमा थापाथलीबाट दिइरहेको स्त्रीरोगको सम्पूर्ण सेवा नयाँ भवनबाट दिइने पनि डा. अधिकारीले बताए । उनले भने, “अहिले सेवा सुरुवात मात्र गरेका छौँ । बिरामीको चाप हेरेर सेवा विस्तार गर्दै लान्छौँ । उपकरणहरु थप्नुपर्नेछ । स्रोत साधन थप्नका लागि स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने अठोट गरेको छ । व्यवस्थापन भएमा सम्पूर्ण सेवा यतै सार्ने छौँ ।”
आगामी दिनमा यही भवनबाट विशिष्टीकृत सेवा पनि सुरु गर्ने लक्ष्य रहेको डा. अधिकारीको भनाइ छ । पाठेघर क्यान्सर, पिसाब चुहिने समस्यालगायत विभिन्न विशिष्टीकृत सेवा सुरु गर्ने लक्ष्य रहेको डा. अधिकारीले बताए । नयाँ भवनबाट सेवा दिन थालिएपछि थापाथलीको मुख्य भवनमा सेवाग्राहीको चाप घट्ने र सेवा थप सहज हुने विश्वास गरिएको छ ।
स्त्रीरोग उपचारका लागि सरकारीस्तरमा एक मात्र केन्द्रिय ‘रिफरल’ अस्पताल रहेकाले पनि प्रसूति गृहमा बिरामीको चाप धेरै हुन्छ । दैनिक ८ सयदेखि हजार जनासम्म बिरामीले अस्पतालमार्फत सेवा लिने गरेको डा. अधिकारीले बताए।