काठमाडौं, १० मंसिर २०८१
परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल (प्रसुती गृह) ले आगामी मंसिर १६ गतेदेखि कुपन्डोलस्थित नयाँ भवनबाट गाइनोकोलोजी सेवा दिने भएको छ।
हाल थापाथलीको पुरानो भवनबाट प्रदान गरिदैं आएको गाइनोकोलोजी सेवा अब कुपन्डोलस्थित नयाँ भवनबाट पनि दिन लागिएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो।
डा. अधिकारीका अनुसार अस्पतालले कुपन्डोलको भवनबाट नर्सिङ कलेज, आइभीएफ सेवा, परिवार नियोजन सेवा, गर्भपतन सेवा तथा निसन्तान ओपिडी सेवा सञ्चालन गर्दै आएको छ। यी सबै सेवाहरुलाई निरन्तरता दिँदै उक्त भवनबाट यसै महिनाभित्र गाइनोकोलोजी सेवा दिने भएका छौं। यसले गर्दा ललिपुर क्षेत्रका बिरामीहरु विशेष रुपमा लाभान्वित हुने छन्।
अस्पतालमा दैनिक रुपमा ८ सय देखि १ हजारको संख्यामा बिरामी आउने भएकोले प्रसूती सेवा लिन आउने बिरामीको चाप अत्याधिक बढेकाले गाइनो सेवालाई कुपन्डोलस्थित नयाँ भवनमा सार्न लागिएको डा. अधिकारीले बताए।
‘हाललाई आंशिक रुपमा सेवा सञ्चालनको तयारी भएपनि केही समयपछि भने गाइनोकोलोजी सेवा सम्पूर्ण रुपमा नै उक्त भवनबाट दिने तयारी अस्पतालको छ । योसँगै ललिपुरका बिरामीहरुलाई गाइनोकोलोजी सेवा लिनका लागि थापाथली आउनुपर्ने अवस्थाको अन्त्य भएको डा. अधिकारीको भनाइ छ। सेवा सुरु भएको जानकारी अस्पतालले अस्पतालकै वेभसाइट तथा सञ्चार माध्यममा दिने डा. अधिकारीले बताए ।
डा. अधिकारीले तत्कालका लागि थापाथली तथा कुपन्डोलबाट उक्त सेवा दिइए पनि केही समयपछि भने गाइनोकोलोजी सेवालाई सम्पूर्ण रुपमा कुपन्डोल लैजाने योजना अस्पतालको रहेको बताए। क्यान्सर, यूरोगाइनोकोलोजी तथा निसन्तान सेवालाई केही समयपश्चात् कुपन्डोल तथा गर्भवती सेवालाई मात्रै थापाथलीबाट प्रदान गरिँदा सेवाग्राहीहरुलाई पर्न नगएको असहज अवस्थाको अन्त्य तथा भिड समेत कम हुने डा. अधिकारी बताउँछन् ।
हाल अस्पतालको भिड व्यवस्थापन हुन नसक्दा सेवा काउन्टर संख्या तथा ओपिडी सेवालाई विस्तार गर्न समस्या हुँदै आएको छ। पार्किङ समस्या बेहोर्दे आएका सेवाग्राहीले कुपन्डोल भवनबाट उक्त समस्या झेल्न नपर्ने डा. अधिकारी बताउँछन्। कुपन्डोल भवनमा गाइनोकोलोजी सेवा सारेपछि थापाथलीमा दैनिक २ देखी ३ सयको संख्यामा बिरामीको चाप कम हुन सक्ने डा. अधिकारी बताउँछन् ।