काठमाडौं, १८ चैत २०८१
चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट संख्या घटाएर म्याचिङ प्रक्रिया अघि बढाएको भन्दै पिजी प्रवेश परीक्षामा सहभागी परीक्षार्थीहरुले तत्काल रोक्नुपर्ने बताएका छन् ।
सोमबार परीक्षार्थीहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रिया तत्काल रोक्न माग गरेका हुन् ।चिकित्सा आयोगको निर्णयले आठ सय परिक्षार्थीहरुले सिट गुमाउनु परेको बताएका छन् ।
आयोगको १७ औं वैठकमा नेपाल सरकारका शैक्षिक संस्थाहरुमा एमडी, एमएस तथा एमडीएसको सिट संख्या २३१ ले थप गर्ने भनि निर्णय गरिएको थियो । सोहि निर्णय अनुसार फागुन ५ गते सिट संख्या बढाई सरकारी र निजि मेडिकल कलेजमा गरि जम्मा एक हजार चार सय ९६ सिट पुर्याइएको थियो । आयोगको वार्षिक क्यालेण्डर अनुसार गत चैत १४ गते आयोगले सूचना प्रकाशित गरि सीट संख्या पुनः घटाएर ६७० पुर्याएपछि परीक्षार्थीहरुले आपत्ती जनाउँदै आएका छन् । उनीहरुले निर्णय पुनरावलोकन गर्न आयोगलाई ध्यानाकर्षण गराएका छन् ।
चैत्र १४ गते उक्त सिट घटाएर ६७० मा झारियो । यसले त ८०० भन्दा बढी परीक्षार्थी पढाईबाट बन्चित हुने र यो हामी प्रतिको सबैभन्दा ठूलो अन्याय भएकोले हामी यसको बिरोधमा उत्रिएका परीक्षार्थी डा. अभिषेक अमरले बताउनुभयो।
परीक्षार्थी डा. अनिलकुमार साहले पीजी पढ्ने आशामा रहेका प्रवेश परीक्षा उत्तीर्ण डाक्टरहरुलाई स्तव्ध पार्ने गरी आयोगको कदम अघि बढेको भन्दै उनले चिकित्सा शिक्षासंग सम्वद्ध व्यक्ति समूह तथा संस्थाहरुले यस कदमको विरोध गर्नुपर्ने बताए । उनले आयोगको यो निर्णयले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने अधिकार बन्चित गर्न खोजिएको आरोप लगाए ।
अर्का परीक्षार्थी डा. सुजन न्यौपानेले परीक्षार्थीमाथी अन्याय भएको भन्दै तत्काल निर्णय सच्याउन आयोगलाई आग्रह गरे । उनले आयोग गैरजिम्मेवार बने कानुनी उपचारमा जाने बताए ।