काठमाडौं, ०९ भाद्र २०८२
बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटी समाजले सरकारले बालबालिकालाई स्वर्णभस्म ‘इम्युन बुस्टर’का रूपमा वितरण गर्ने अभियानप्रति औपचारिक रुपमै असहमति जनाएको छ।
अध्यक्ष डा. अरुण कुमार न्यौपानेको हस्ताक्षरमा सोसाइटीले विज्ञप्ति जारी गर्दै सोसाइटीले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर, जोखिम मूल्याङ्कन र नियामक स्पष्टतामा कमी रहेको कारण अभियान तत्काल रोक्न आग्रह गरेको छ।
शिशुहरूमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको सोसाइटीले उल्लेख गरेको छ। नेपालमा गरिएका बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनहरूमा सिसा (लेड), पारो (मर्क्युरी), आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै यसले बाल स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ।
नेपाल पेडियाट्रिक सोसाइटिको सिफारिस
१. स्वर्णभस्म / स्वर्णकल्प वितरण कार्यक्रम तत्काल स्थगन गर्नू पर्ने ।
२. मुलुकमा अन्य औषधी जन्य पदार्थ प्रयोगमा ल्याउनु अघी अवलम्बन गर्नुपर्ने जस्तै गरी सम्पूर्ण प्रकृया पुगे नपुगेका सम्बन्धमा, औषधि व्यवस्था विभागले आफ्नो आधिकारिक धारणा तथा नियामक पारदर्शिता सार्वजनिक गर्न पर्ने ।
३. कार्यक्रमले शिशु समेट्ने भए उमेर सुरक्षा सम्बन्धी, मह भएको कुनै पनि पदार्थ दिन मिल्ने / नमिल्ने गरी स्पष्ट उमेर चेतावनी राख्नू
पर्ने ।
४. यसको सार्वजनीक प्रयोग गर्ने पर्ने भएमा, प्रयोग गर्नु अघि विशेष अध्ययन अनुसन्धान पश्चात सुरक्षित छ भनि प्रमाणित भए मात्रै प्रयोग गर्ने ।
५. नेपाल सरकारले स्रोत साधन प्राथमिकताहरु जस्तै विशेष स्तनपान, समयमै खोप, भिटामिन-ए, पखालामा जिङ्क, पोषण र WASH जस्ता प्रमाणित उपायहरूमा लगानी विस्तार गर्नु पर्ने ।
अभिभावकहरू र चिकित्सकहरूलाई सन्देश
१. एक वर्ष (१२ महिना) मुनिका शिशुलाई मह नदिनुहोस् ।
२. स्वर्णभस्म/स्वर्णकल्प को “इम्युन बुस्ट” दाबीबारे उच्च-गुणस्तरीय प्रमाण नआएसम्म कृपया सावधानी अपनाउनुस् ।
३. बाल स्वास्थ्य बलियो बनाउन विशेष स्तनपान, समयमै खोप, उचित पोषण / स्वच्छता र समयमै उपचार नै प्रमाणित उपाय हुन् । यस सम्बन्धि कुनै पनि शंका भएमा वा उपरोक्त स्वर्णभष्म सेवन पश्चात कुनै प्रतिकूल असर देखिएमा आफ्नो नजिकैको बालरोग विशेषज्ञ चिकित्सकसँग तुरुन्त परामर्श लिनुहोस् ।
४. सारांशमा एक वर्ष (१२ महिना) मुनिको उमेरका बाल बालिकाहरुमा मह निषेधित भएको पृष्ठभुमिमा तथा Gold सम्बन्धी जोखिम र नियम- प्रक्रियामा पारदर्शिता नआएसम्म यो अभियान स्थगित गर्नु उचित हुनेछ।