काठमाडौं , २९ जेठ
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिममा थप तीनवटा पिसिआर मेशिन पठाउन लागेको बताएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणको अबस्थाबारे बुझ्न संघिय सरकारको एक टोलीको नेतृत्व गर्दै विहीवार धनगढी पुगेका उनले एरपोर्टमै पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
परीक्षण अभावमा सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रणमा समस्या देखिएले परीक्षणलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले दुईवटा पहाडी जिल्ला र एउटा कञ्चनपुरकालागि पिसिआर मेशिन ल्याउन लागिएको मन्त्री भट्टले बताए । प्रदेशमा कोरोनाको असर कम गर्न तथा भारत लगायतका मुलुकबाट फर्किएका नेपालीलाई उद्यमशिलता तथा नेपालमै श्रम गर्न सम्भाव्यताबारे पनि छलफल गरिने उनले बताए ।
अन्तराष्ट्रिय सहयोगी संस्था युएनडिपीका प्रतिनिधिसहित संघीय सरकारको उक्त टोलीले सुदूरपश्चिममा कोरोना संक्रमणको अवस्था, चेकजाँच, जनशक्ति तथा स्वास्थ्य सामाग्रीहरुको आवश्यकता, परीक्षणको अवस्था तथा आगमी चाल्नुपर्ने कदमहरुको बारेमा स्थलगत बुझ्ने बताइएको छ । अहिले यही विषयमा प्रदेश सरकारसँग छलफल चलिरहेको छ ।