काठमाडौं, ४ कात्तिक २०८१
नेपालमै पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजो रोग विशेषज्ञ डा.शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिना (बड चियारी सिन्ड्रोम) को सफल उपचार गरेको हो । यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोशेढुंगाको रुपमा लिइएको छ ।
एक वर्षअघि तिम्सिनालाई पोर्चुगलमा काम गरिरहेका बेला बड चियारी सिन्ड्रोम भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो ।
नेपाल फर्केपछि तिम्सिनालाई नर्भिक अस्पतालका डा. पौडेल र उनको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स र डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट) मार्फत् सजिलै उपचार गर्न सकिने देखिएको थियो ।
डा. पौडेलको नेतृत्वमा डा. अरुण महतो, डा. गणेश देवकोटा र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका डा. शहनबाज बासिरको मार्गदर्शनमा यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
तिम्सिना हालै सफल उपचारपछि घर फर्किसकेका छन् । यो उपचारले नेपालमै जटिल कलेजो रोगहरुको उपचार सम्भव भएको देखाएको छ । बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरुमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ । धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ ।
टिप्स अथात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ । यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिँदैन, जसका कारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन ।
नर्भिक अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकमार्फत् विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । त्यही क्रममा पछिल्लोपटक कलेजोको बड चियारी सिन्ड्रोमको सफल उपचार गरिएको हो।