बैतडी, ६ फागुन २०८१
बैतडीका स्थानीय तहहरुमा नसर्ने रोग पहिचानका लागि एक महिने अभियान चलिरहेको छ । फागुन १ गतेदेखि सुरु भएको अभियान एक महिनासम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिनुभयो ।
नेपाल भित्र बसोवास गर्ने ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक पालिकाका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवम् शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी रोकथाम तथा व्यवस्थापन गर्ने अभियानको लक्ष्य रहेको लेखकले बताए।
यो अभियानले नसर्ने रोगको उपचारमा सहयोग पुग्ने विश्वास गरिएको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो ।
बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवर्तित जनसंख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या बढ्दै गएको बताइएको छ ।
समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरू जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै ज्यान गइरहेको छ ।
जनस्वास्थ्यको समस्याको रूपमा देखा पर्दै गएको नसर्ने रोगलाई नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मधुमेह, उच्च रक्तचाप, शरीरको उचाइ र तौलको अनुपातको पहिचान गर्न अभियान सञ्चालन गरिएको हो ।